धनकुटामा एक हजार २४० किलो गाँजासहित ट्रक बरामद

बुधबार, २४ भदौ, २०८३
डिजिटल संस्करण

धनकुटाको साँगुरीगढी गाउँपालिका– ७, फेदीबाट प्रहरीले ठुलो परिमाणमा लागुऔषध गाँजासहित एउटा ट्रक बरामद गरेको छ।

कोशी लोकमार्गअन्तर्गत फेदी क्षेत्रमा बुधबार राति करिब ११ बजे मूलघाटबाट खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त चेकिङ टोलीले धनकुटाबाट भेडेटारतर्फ जाँदै गरेको ना.४ख ५२७ नम्बरको ट्रकलाई चेकजाँचका लागि रोक्न खोजेको थियो।

प्रहरीका अनुसार चेकिङ टोलीले ट्रक रोक्न खोजेपछि चालक ट्रकबाट हाम फालेर फरार भएका थिए। ट्रक शंकास्पद लागेपछि सुरक्षाकर्मीले चेकजाँच गर्दा ट्रकभित्र लुकाइराखिएको अवस्थामा एक हजार २४० किलो ६ सय ग्राम गाँजा फेला परेको हो।

गाँजा र ट्रक नियन्त्रणमा लिएर प्रहरीले फरार चालकको खोजी गरिरहेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार