प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हालसम्म ११ अर्ब ९५ करोड १७ लाख मौज्दात रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार साँझ ५ बजेसम्म कोषका नौवटा नेपाली रुपैयाँ खातामा आठ अर्ब ७६ करोड ६९ लाख र दुईवटा अमेरिकी डलर खातामा दुई करोड ११ लाख आठ हजार ४७१ अमेरिकी डलर मौज्दात रहेको छ ।
अमेरिकी डलरलाई प्रतिडलर १५०.८८ रुपैयाँका दरले रूपान्तरण गर्दा कोषको कुल मौज्दात ११ अर्ब ९५ करोड १७ लाख पुगेको कार्यालयले जनाएको छ । यसैगरी, रसुवा–भोटेकोशी बाढीपछि कोषमा सात अर्ब ६८ करोड ४४ लाख तथा दुई करोड पाँच लाख २२ हजार ४२३ अमेरिकी डलर संकलन भएको छ ।
उक्त रकम विपत्अघिको कोषमा रहेको दुई अर्ब आठ करोड २४ लाख मौज्दातबाहेकको हो । अर्थ मन्त्रालयका अनुसार २३ भदौमा मात्रै कोषमा ३० करोड ६२ लाख तथा एक लाख १२ हजार ३२ अमेरिकी डलर सहयोग प्राप्त भएको छ । विपत्पछि राहत तथा पुनर्स्थापनाका लागि कोषमा स्वदेश तथा विदेशबाट सहयोग रकम प्राप्त हुने क्रम जारी रहेको मन्त्रालयले जनाएको छ ।