जेन–जी आन्दोलनमा भागेका तीन हजार ६०५ कैदीबन्दी अझै फरार

मंगलबार, २३ भदौ, २०८३
डिजिटल संस्करण

गत वर्षको जेन–जी आन्दोलनका वेला देशका विभिन्न कारागारबाट भागेका तीन हजार ६०५ कैदी अझै फरार छन् । कारागार व्यवस्थापन विभागका अनुसार फरार हुनेमा केही गम्भीर तथा जघन्य अपराधमा सजाय भोगिरहेका कैदीसमेत छन् ।

२४ भदौको आन्दोलनका क्रममा सुरक्षाकर्मीले जेलको अवस्था नियन्त्रणमा लिन नसकेपछि एकपछि अर्को गर्दै कैदीबन्दी कारागारबाट भागेका थिए । कुल १३ हजार ५८५ कैदी भागेकामा नौ हजार ९७५ जना कारागार फर्किसकेको विभागका महानिर्देशक माधवप्रसाद पोखरेलले बताए । उनका अनुसार पाँचजनाको भने मृत्यु भएको विवरण विभागसँग छ ।

प्रहरीले विभिन्न कारागारबाट भागेका कैदीको खोजीका लागि देशभर अभियान सञ्चालन गरिरहेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले कास्की कारागारबाट भागेका हरिबहादुर गुरुङलाई पक्राउ गरेको छ । बलात्कार मुद्दामा १४ वर्ष कैद सजाय तोकिएका गुरुङलाई कास्कीको रूपा गाउँपालिका– ७ धारापानीबाट पक्राउ गरिएको सिआइबीले जनाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले जेलबाट फरार कैदीको खोजी अभियान निरन्तर सञ्चालन भइरहेको बताए । कतिपय कैदी भने जेलबाट भागेपछि आपराधिक गतिविधिमा संलग्न भएको अवस्थामा समेत पक्राउ परेका छन् ।

कारागार व्यवस्थापन विभागले फरार कैदीहरूको सूची अद्यावधिक गरी स्थानीय तहदेखि राज्यका सबै सम्बन्धित निकायमा पठाएको छ । फरार कैदीको खोजी, पहिचान र पक्राउका लागि सबै निकायलाई समन्वय गर्नसमेत आग्रह गरिएको विभागले जनाएको छ ।
 

सुझावित समाचार