कुमारी बैंक पिसिएएफमा आबद्ध

मंगलबार, २३ भदौ, २०८३
डिजिटल संस्करण

कुमारी बैंक लिमिटेड पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पिसिएएफ)मा आबद्ध भएको छ । यससँगै बैंकले जिम्मेवार बैंकिङ, जलवायु कार्य तथा आफ्नो वित्तीय गतिविधिबाट हरितगृह ग्यास उत्सर्जन मापन र व्यवस्थापन गर्ने विषयमा थप पारदर्शिता कायम गर्नेछ । 

‘पिसिएएफको सदस्य बनेसँगै बैंकले आफ्ना ऋण तथा लगानीबाट हुने हरितगृह ग्यास उत्सर्जनको मापन तथा सार्वजनिक रूपमा प्रकाशन गर्न पिसिएएफका विश्वव्यापी रूपमा मान्यता प्राप्त मापदण्ड तथा विधि प्रयोग गर्नेछ,’ बैंकले भनेको छ, ‘यो पहलले बैंकको जलवायुसम्बन्धी तथ्यांक, जोखिम व्यवस्थापन तथा दिगो वित्तसम्बन्धी अभ्यासलाई थप सुदृढ बनाउन महत्वपूर्ण कदमको प्रतिनिधित्व गर्दछ ।’

न्यून कार्बन तथा जलवायु–उत्थानशील अर्थतन्त्रतर्फको संक्रमणलाई सहयोग गर्न वित्तीय क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ । पिसिएएफमा आबद्ध भएपछि यस बैंकले आफ्नो लगानी गतिविधिको जलवायु प्रभाव बुझ्ने क्षमता अभिवृद्धि गर्ने र त्यसबाट प्राप्त जानकारीलाई भविष्यका वित्तीय निर्णय, जोखिम व्यवस्थापन तथा दिगोपनासम्बन्धी पहलमा उपयोग गर्ने लक्ष्य राखेको छ ।

पिसिएएफ वित्तीय संस्थाहरूको विश्वव्यापी सहकार्य हो । यसले ऋण तथा लगानीमार्फत हरितगृह ग्यास उत्सर्जनको एकरूप मूल्यांकन गर्न सहजीकरण गर्दै आएको छ । ‘कुमारी बैंकका लागि पिसिएएफको सदस्य बन्नु यसको व्यापक दिगोपनसम्बन्धी यात्रामा महत्वपूर्ण प्रगति हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यसले बैंकको व्यवसाय तथा वित्तीय गतिविधिमा वातावरणीय पक्षलाई समावेश गर्ने प्रतिबद्धतालाई समेत प्रतिबिम्बित गर्छ ।’

‘पिसिएएफमा आबद्ध हुनु कुमारी बैंकको दिगोपन यात्राको महत्वपूर्ण कोसेढुंगा हो,’ बैंकका सस्टेनेबल बैंकिङ विभागका प्रमुख अर्पण पौडेलले भने, ‘हाम्रो वित्तीय गतिविधिसँग सम्बन्धित उत्सर्जनलाई बुझ्नाले जलवायु रणनीति सुदृढ गर्न, पारदर्शिता बढाउन र उत्थानशील तथा दिगो अर्थतन्त्रतर्फ अघि बढाउन सहयोग गर्ने क्रममा तथ्य र जानकारीमा आधारित परिपक्व निर्णय लिन टेवा पुग्नेछ ।’

सुझावित समाचार