जर्मनीको पूर्वी राज्य स्याक्सोनी–एनहाल्टमा नयाँ प्रादेशिक सांसद चुन्न मतदान सम्पन्न भएको छ । मतसर्वेक्षणहरूले उग्रदक्षिणपन्थी दल ‘अल्टरनेटिभ फर ड्युचल्यान्ड(एएफडी)ले लगभग ४० प्रतिशत मत पाउने देखाएकोमा उसले त्यो भन्दा राम्रो प्रदर्शन गर्दै ४३.८ प्रतिशत मत हासिल गरेको छ । योसँगै पार्टी राज्यको सबैभन्दा ठुलो दल त बनेको छ, तथापि उसले एकल बहुमत भने प्राप्त गर्न सकेन ।
सन् १९४९ र १९८९ को अवधिमा कम्युनिस्ट शासन रहेको पूर्वी जर्मनीमा पर्ने धेरै क्षेत्र पछिल्लो समय उग्र दक्षिणपन्थीहरूका लागि उर्वर भूमि देखिएको छ । सन् २०२५ को संघीय चुनावमा एएफडीले ती भेगबाट ३४.६ प्रतिशत मत पाएको थियो, जसमध्ये स्याक्सोनी–एनहाल्ट राज्यमा खसेको कुल मतको ३७.१ प्रतिशत मत उसलाई गएको थियो । पूर्वी जर्मनीमा उग्रदक्षिणपन्थी दलहरूले किन यति धेरै मतदातालाई आकर्षित गरिरहेका छन् भन्नेबारेमा धेरै लेखिएको छ ।
बाँकी जर्मनीको तुलनामा न्यून औद्योगिकीकरण, सम्पन्न पश्चिमतर्फ भएको ठुलो बसाइँसराइका कारण देखिएको जनसांख्यिकीय परिवर्तन र केही क्षेत्र विशेषतः ग्रामीण क्षेत्रमा जनसंख्यामा आएको गिरावटलाई यसको मुख्य कारण बताइएको छ । तर, सम्भवतः सबैभन्दा ठुलो कारण, पश्चिमसँगको पुनर्मिलनको तीन दशकभन्दा बढी समयपछि देशभित्र ‘दोस्रो श्रेणीको नागरिक’ महसुसको भावनाले पनि काम गरेको हुनुपर्छ ।
सन् १९४९ देखि १९८९ को अवधिमा कम्युनिस्ट शासन रहेको पूर्वी जर्मनीका अधिकांश क्षेत्रमा पछिल्लो समय उग्रदक्षिणपन्थीको बाहुल्यता छ
स्याक्सोनी–एन्हाल्ट राज्यमा बेरोजगारीको स्तर जर्मनीको औसतभन्दा माथि छ । अगस्ट महिनामा देशभर औसत ६.५ प्रतिशत बेरोजगार रहेको देखिएकोमा राज्यमा ८.२ प्रतिशतमा रहेको छ । राज्यमा पूर्णरुपमा रोजगारी पाएका व्यक्तिको औसत ज्यालादर पनि कम छ । यो राष्ट्रिय औसत लगभग ५२ हजार युरो हुँदा राज्यमा भने ४८,३०० युरो मात्र छ । खासमा अहिले स्याक्सोनी–एन्हाल्ट राज्यमा मात्र नभई देशभर नै एएफडीप्रति आमसमर्थनमा बढ्दो छ । दक्षिणपन्थीहरूको लोकप्रियतामा स्थापित पार्टीको अलोकप्रियताले सघाइरहेको छ । अहिले त्यहाँको संघीय सरकार र चान्सलर फ्रेडरिक मेर्ज अत्यधिक अलोकप्रिय देखिएको छ (चान्सलरप्रति झन्डै ८५ प्रतिशत मतदाता असन्तुष्ट छन्) ।
उग्रदक्षिणपन्थी दल एएफडी यसअघि सन् २०२४ मा थुरिंगिया राज्यमा भएको राज्यस्तरीय चुनावमा पनि सबैभन्दा ठुलो पार्टी बनेको थियो । तर, उसले एकल बहुमत ल्याउन नसक्दा पुराना दलहरू मध्य–दक्षिणपन्थी क्रिस्चियन डेमोक्रेटिक युनियन अफ जर्मनी (सिडियू), वामपन्थी पपुलिस्ट पार्टी ‘बुन्डनिस सहारा वागेनक्नेच्ट (बिएसडब्ल्यु)’ र मध्यवामपन्थी दल ‘सोसल डेमोक्रेटिक पार्टी अफ जर्मनी (एसपिडी)’ले मिलेर सरकार गठन गरे । राज्यको गठबन्धन सरकारमा नरहे पनि कानुन पारित गर्न उनीहरू डाई लिन्क (द लेफ्ट पार्टी) को समर्थनमा भर पर्दै आएका छन् ।
द लेफ्ट पार्टीको पूर्वी जर्मनीको कम्युनिस्ट शासनसँग सम्बन्ध र वैचारिक मतभिन्नताका कारण मध्यदक्षिणपन्थी सिडियूले लामो समयदेखि राज्य र राष्ट्रियस्तरमा सो पार्टीसँग कुनै प्रकारको गठबन्धन अस्वीकार गर्दै आएको छ । तर, व्यवहारमा एएफडीको उदयको परिप्रेक्ष्यमा थुरिंगिया राज्य र राष्ट्रिय संसद्मा दुवैमा एक–अर्काको साथ नलिने अडान अहिले नरम भएको छ ।
जर्मनीका अधिकांश राज्यस्तरीय चुनावमा कम्तीमा पाँच प्रतिशत मत ल्याउने पार्टीले मात्र समानुपातिकतर्फको सिट पाउन सक्छन् । त्योभन्दा कम मत ल्याउने दलको मत अन्य दलतर्फ जोडिन्छ । राज्यको प्रारम्भिक घटना सकिदा दोस्रो ठुलो दल सिडियूले १७.२ प्रतिशत मत पाएको छ, जुन मतसर्वेक्षणमा भनिएको २३ प्रतिशत मत पाउने प्रक्षेपण भन्दा कम हो । त्यस्तै तेस्रो बनेको मध्यवामपन्थी दल सिडियुले ९.३ प्रतिशत मत, पर्यावरणवादी द ग्रिन्सले ८.९ प्रतिशत र उग्र वामपन्थी मानिने ‘द लेफ्ट पार्टी’ ८.६ प्रतिशत मत पाउन सफल भयो । त्यसबोहक पपुलिस्ट वामपन्थी दल विएसडब्लुले आवश्यक ५ प्रतिशत बढि मत ल्यायो ।
के छन् एएफडीका योजना ?
स्याक्सोनी–एनहाल्ट राज्य चुनावअघि एएफडीले जारी गरेको घोषणापत्र अत्यन्तै दक्षिणपन्थी प्रकृतिको छ । राज्यभित्र शरणाार्थीले पाइरहेको अधिकार अन्त्य गर्ने र इयूभन्दा बाहिरका मानिसको आप्रवासनमा रोक लगाउने कुरा उल्लेख भए पनि त्यो कुरा राज्यले नभई केन्द्र सरकारले मात्र लागू गर्न सक्छ । त्यसबाहेकका एएफडीको घोषणापत्रका अन्य प्रस्ताव भने कानुनी रूपमा लागू गर्न सम्भव छ ।
यसमा नाजीकालीन विषयमा आधारित पाठ्यक्रममा परिवर्तन गर्ने कुरा पनि समावेश छ । एकजना एएफडी नेताले यस कार्यक्रमलाई भने, ‘हिट्लर घटाउने, विस्मार्क बढाउने’ । सन् १८७१ मा जर्मनीको एकीकरणको नेतृत्व गरेका ओटो भोन बिस्मार्क एकथरी रुढीवादीमाझ लोकप्रिय छन् । एएफडीले आफू सरकार गठन गर्न सफल भए स्कूलमा जर्मन राष्ट्रिय गान नियमित गाउनुपर्ने व्यवस्था गर्ने, विशेष आवश्यकता भएका बच्चाहरूलाई मूलधारको विद्यालयमा ‘समावेशीकरण’को अन्त्य गर्ने बताएको छ ।
त्यस्तै, प्रोटेस्टेन्ट चर्चलाई राज्यले दिने खर्च कटौती गर्ने सम्भावना पनि उच्च छ । पार्टीले सो इसाई सम्प्रदाय धार्मिकभन्दा सामाजिक मुद्दामा बढी केन्द्रित भएको आरोप लगाउँदै आएको छ । एएफडीको सरकार गठन भएमा जर्मनीको ‘संवैधानिक सुरक्षा’ वा गुप्तचर सेवा भने कठिन अवस्थामा पर्नेछ । किनकि एएफडीमाथि गुप्तचर निकायले शंकास्पद अतिवाद गतिविधिमा संलग्न भएको आधारमा जर्मन गुप्तचर एजेन्सीहरूको निगरानी गरिरहेको छ ।
यस्तोमा राज्यमा सोही पार्टीको सरकार गठन भएमा, केही संवेदनशील विषयलाई सुरक्षित राख्न स्याक्सोनी–एनहाल्टमा गुप्तचर सेवाका समानान्तर कार्यालय स्थापना हुन सक्छ । बढ्दो अलोकप्रियता र अतिवादी दलको उदयबिच केन्द्रमा चान्सलरविरुद्ध पार्टीभित्रका अरू नेताले चुनौती दिने सम्भावना बढेको छ ।
द कन्भर्सेसनबाट