सोमबार १० बजेसम्मका प्रमुख १० खबर

सोमबार, २२ भदौ, २०८३
डिजिटल संस्करण

बाढी प्रभावित जलविद्युत् आयोजना क्षेत्रमा सम्पर्कविहीनको खोजीमा कुनै कसर बाँकी राखेका छैनौँ : प्रधानमन्त्री

प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा र नुवाकोटका बाढी प्रभावित जलविद्युत् आयोजना क्षेत्रमा सम्पर्कविहीन भएका व्यक्तिको खोज तथा उद्धार कार्यलाई अन्तिमसम्म जारी राख्ने बताएका छन्।

प्रधानमन्त्री शाहले बाढीका कारण प्रभावित विभिन्न जलविद्युत् आयोजनामा भइरहेको खोज तथा उद्धारको पछिल्लो अवस्थाबारे जानकारी दिँदै सीमित स्रोतसाधन र समयका बाबजुद अभियानलाई निरन्तरता दिइरहेको बताएका हुन्।

भोटेकोशी बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति योजना घोषणा

भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब एक अर्ब रुपैयाँबराबरको ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयले संघीय सरकारका विभिन्न निकाय, प्रदेश सरकार र स्थानीय सरकार तथा निजी विद्यालय सञ्चालकका छाता संगठन, सरकारी र गैरसरकारी संघसंस्थासँगको सहकार्यमा बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क शिक्षा उपलब्ध गराउने उद्देश्यले सो कार्यक्रम ल्याएको हो। त्यसैगरी अन्य सरकारी गैरसरकारी संस्थाहरुसँग पनि सहकार्य गरिनेछ। यो छात्रवृत्ति कार्यक्रमले प्रारम्भिक बालविकास शिक्षादेखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीलाई समेट्नेछ। करिब एक हजार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइने जनाइएको छ।

रसुवा जाने अर्काे वैकल्पिक सडक सञ्चालनमा

बाढीका कारण रसुवा जाने मुख्य राजमार्ग क्षतिग्रत भएपछि रसुवा जाने अर्काे वैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ ।  मध्यपहाडी राजमार्गको  ढिकुरे–फेदीबेँसी चोक–हिरामुनिटार–चोगते–बोरे भञ्ज्याङ–सानो खोला (रसुवा) –धनस्वारा–पाटीखर्क–भोर्ले –जिबजिबे –बोगटीटार (पासाङल्हामु राजमार्ग)–कालिकास्थान–धुन्चे सडकअन्तर्गत बोरे भञ्ज्याङ–सानो खोला (रसुवा)–धनस्वारा पाटीखर्क खण्ड सञ्चालनमा ल्याइएको हो। 

एक्साभेटर, ब्याकहोल लोडर, टिपर प्रयोग गरी पहिरो पन्छाउने, सडक सतह मिलाउने, कच्ची नाली निर्माण गर्ने, साँघुरा स्थानमा सडक चौडा गर्ने, ग्राभेल राख्ने, कल्भर्ट निर्माण गर्नेलगायतका मर्मत तथा सुधारका  गरी सडक सञ्चालनमा ल्याइएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । उक्त खण्डमा ठुला सवारीसाधन दुईतर्फी रूपमा सञ्चालन गर्न सकिने अवस्था बनेको छ। 

सुदूरपश्चिममा गठबन्धनले सार्वजनिक गर्यो सरकार सञ्चालनको न्यूनतम साझा कार्यक्रम

सुदूरपश्चिममा सत्तासहकार्य गरिरहेका नेपाली कम्युनिस्ट पार्टी र नेकपा एमालेले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका छन्। न्यूनतम साझा कार्यक्रमका आधारमा बजेट पुनर्लेखन गर्ने गठबन्धनको तयारी छ।

न्यूनतम साझा कार्यक्रम सार्वजनिकपछि मुख्यमन्त्री खगराज भट्टले त्यही आधारमा सरकारले आगामी बजेट ल्याउन लागेको बताए। अघिल्लो सरकारले ल्याएको बजेट पारित हुन नसकेपछि गत १ साउनदेखि सुदूरपश्चिम बजेट शून्यताको अवस्थामा छ। बजेट शून्यताले सरकारले कुनै पनि प्रकारको भुक्तानी गर्न पाएको छैन। प्रदेशका कर्मचारीले साउनयता तलब पाएका छैनन्।

क्यासिनोबाट पक्राउ परेका इन्स्पेक्टरसहित आठजनालाई ६ दिन थुनामा राख्न अनुमति

शनिबार राति क्यासिनोबाट पक्राउ परेका इप्रका पोखरियाका इन्स्पेक्टर प्रदीपसहित ८ जनालाई ६ दिन थुनामा राख्न प्रहरीले अनुमति पाएको छ। जुवासम्बन्धी कसुरमा उनीहरूलाई ६ दिन म्याद थप भएको हो। 

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले गोल्डेन फिंगर गेमिङ जोन क्यासिनोमा छापा हानी इन्स्पेक्टर पौडेलसहित आठजनालाई पक्राउ गरेको थियो । सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव, उनका साथीहरू ओमप्रकाश बैठा र चन्दन सहनी क्यासिनोमा जुवा खेलाउने म्यानेजर परदेशी साहसहित कर्मचारीहरू विजयकुमार पटेल, दिनेशकुमार पटेल र जयदेव साहविरुद्ध जुवासम्बन्धी कसुरमा अनुसन्धान अघि बढेको हो। 

विकास मोडेलमाथि पुनर्विचार गर्न राष्ट्रपतिको आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट प्रभावितहरूको पुनर्निर्माण र पुनर्स्थापनासँगै नेपालको विकास मोडेलमाथि पनि पुनर्विचार गर्नुपर्ने बताएका छन्।

भोटेकोशी बाढीबाट अति प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अवलोकन गरी काठमाडौं फर्केपछि राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन्।

विगतमा पनि भूकम्प, बाढीपहिरो, महामारी तथा अन्य विभिन्न विपत्तिहरू आइपरेकाे उल्लेख गर्दै उनले भने, ‘यो विभाजनको समय होइन। एकअर्कालाई दोषारोपण गर्ने वा राजनीतिक विवाद र टकरावमा अल्झिने समय पनि होइन। यो राष्ट्रिय एकता तथा ऐक्यबद्धता प्रदर्शन गर्ने समय हो।’

वृद्ध दम्पतीलाई बन्धक बनाई लुटपाट गर्ने पाँचसहित सातजना पक्राउ

वृद्धवृद्धालाई शरीर बन्धक बनाई डाँका चोरी गर्ने गिरोहलाई रामेछाप प्रहरीले आइतबार भक्तपुर जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका–२ का ३३ वर्षीय पशुपति श्रेष्ठ र ३२ वर्षीय दीर्घराज मोक्तान, सिन्धुलीको घ्याङलेक गाउँपालिका– २ का २५ वर्षीय सुमन जर्घामगर, झापाको दमक नगरपालिका–७ का ४४ वर्षीय पीताम्बर गहतराज र धनकुटाको बेलाहारा नगरपालिका–५ का ३८ वर्षीय गुणराज विश्वकर्मा रहेका छन्।

विपत् प्रभावित क्षेत्रको पुनर्निर्माणमा अन्य जिल्लाको बजेट काटेर भए पनि खर्च गर्छाैँ : मुख्यमन्त्री थापा

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले बाढीपहिरोबाट क्षतिग्रस्त क्षेत्रको पुनर्निर्माणका लागि आवश्यक परे अन्य जिल्लाका विकास बजेटसमेत कटौती गरेर खर्च गर्ने बताएका छन्।

काठमाडौंस्थित प्रदेश सुशासन केन्द्रको हलमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री थापाले विपतबाट रसुवा, नुवाकोट, धादिङ र चितवनका विभिन्न स्थानीय तहमा ठुलो क्षति पुगेको जानकारी दिए। उनले अब प्रदेश सरकारको मुख्य प्राथमिकता उद्धार र राहतसँगै पुनर्निर्माण तथा पुनर्स्थापना हुने बताए।

भोटेकोशी बाढी प्रभावितका लागि नेपाल टेलिकमका कर्मचारीको दुई करोड दुई लाख सहयोग

नेपाल टेलिकममा कार्यरत कर्मचारीहरूले भोटेकोशी बाढी प्रभावितको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा दुई करोड दुई लाख २६ हजार ६६ रुपैयाँ सहयोग गरेका छन्।

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित विभिन्न जिल्लाका नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले कम्पनीमा कार्यरत सम्पूर्ण कर्मचारीका तर्फबाट उक्त रकम उपलब्ध गराइएको हो।

सभापति लामिछाने र अमेरिकी विदेशमन्त्री रुबियोबिच टेलिफोन वार्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोबिच टेलिफोन वार्ता भएको छ।

रास्वपाका अनुसार विदेशमन्त्री रुबियोले भोटेकोशी बाढीबाट भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपतकाे यस घडीमा नेपालका जनता र सरकारप्रति अमेरिकी सरकारको ऐक्यबद्धता रहेको बताएका छन्।

वार्ताका क्रममा सभापति लामिछानेले नेपाल सरकारले खोजी, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन उपलब्ध सबै स्रोत–साधन परिचालन गरिरहेको जानकारी गराए। उनले नेपाली नागरिकसँगै नेपालमा रहेका विदेशी नागरिकको सुरक्षा तथा संरक्षणप्रति समेत सरकार समान रूपमा प्रतिबद्ध रहेको बताए।

सुझावित समाचार