भोटेकोशी बाढीका मृतकप्रति हेटौँडामा श्रद्धाञ्जली, बेपत्ताको खोजी तीव्र बनाउन माग

सोमबार, २२ भदौ, २०८३
डिजिटल संस्करण

भोटेकोशी हुँदै त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको स्मृतिमा सोमबार हेटौँडामा सर्वदलीय श्रद्धाञ्जली सभा आयोजना गरिएको छ। हेटौँडा– १० स्थित बुद्धचोकमा आयोजित कार्यक्रममा बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता व्यक्तिको खोजी, उद्धार तथा पीडित परिवारको राहत र पुनर्स्थापनालाई प्रभावकारी बनाउन सरकारसँग माग गरिएको छ।

मकवानपुरका राजनीतिक दलहरूको संयुक्त आयोजनामा भएको कार्यक्रममा बाढीमा मृत्यु भएका मकवानपुरका रमेश मगर, उद्धव खड्का, सचिन रानामगर, सुमन गोले तथा मकवानपुरमा बसोबास गर्दै आएका रमेश आलेमगरको तस्बिर राखेर सामूहिक रूपमा श्रद्धाञ्जली अर्पण गरिएको थियो। सहभागीहरूले एक मिनेट मौनधारण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका थिए।

कार्यक्रममा वक्ताहरूले भोटेकोशी बाढीपछि मकवानपुरका ६१ जना अझै सम्पर्कविहीन रहेकाले उनीहरूको खोजी कार्यलाई थप तीव्र बनाउन सरकारसँग आग्रह गरेका छन्। साथै पीडित परिवारलाई राहत, पुनर्स्थापना, मनोसामाजिक परामर्श तथा दीर्घकालीन सहयोगको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्।

श्रद्धाञ्जली सभामा प्रतिनिधिसभा सदस्य प्रशान्त उप्रेती, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति सञ्जीव पाठक, कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, एमालेकी सचिव सीता विष्ट, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष ध्रुव भुजेल, श्रम संस्कृति पार्टी मकवानपुरका अध्यक्ष युनेश लामा सिङ्तान, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का गुरुप्रसाद सापकोटा, उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष सुरेन्द्र लामालगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योगी–व्यवसायी, सामाजिक अभियन्ता तथा गैरसरकारी संस्थाका प्रतिनिधिको सहभागिता थियो।

वक्ताहरूले विपतका वेला राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिँदै बेपत्ता व्यक्तिको खोजी कार्य जारी राख्न, मृतकका परिवारलाई पर्याप्त राहत उपलब्ध गराउन तथा प्रभावित क्षेत्रको पुनर्निर्माणलाई तीव्रता दिन सरकारसँग माग गरेका थिए। उनीहरूले प्राकृतिक विपतले दिएको पीडालाई साझा रूपमा सामना गर्दै प्रभावित परिवारलाई आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउन सम्पूर्ण पक्षलाई आह्वानसमेत गरेका छन्।

सुझावित समाचार