टिपरको ठक्करबाट मोटरसाइकलचालकको मृत्यु

आइतबार, २१ भदौ, २०८३
डिजिटल संस्करण

बाराको दुधौरा–पिलुवा सडकखण्डमा टिपरको ठक्करबाट मोटरसाइकलचालकको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत बैजुरा पुलमा भएको दुर्घटनामा जितपुरसिमरा उपमहानगरपालिका–१६, पिलुवाका ५२ वर्षीय देवबहादुर चौरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रहरीका अनुसार पिलुवाबाट पथलैयातर्फ जाँदै गरेको प्र२–०३–०२२प ९६४५ नम्बरको मोटरसाइकललाई निजगढतर्फ जाँदै गरेको ना१अ यु १३४ नम्बरको टिपरले ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका चौरेललाई तत्काल उद्धार गरी वीरगन्जस्थित बयोधा मेडिसिटी अस्पताल पुर्याइएको थियो। अस्पतालले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी मीनबहादुर घलेले जानकारी दिए।

दुर्घटनापछि प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार