बाढी प्रभावितका लागि जुट्दै छ निजी क्षेत्रको सहयोग

आइतबार, २१ भदौ, २०८३
डिजिटल संस्करण

बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग 

दूरसञ्चार कम्पनी नेपाल टेलिकमले बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने १५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । भदौ १० मा रसुवाको भोटेकोशीमा आएको बाढीका कारण ठुलो जनधनको क्षति पुगेको छ । बाढीबाट उत्पन्न विपत् व्यवस्थापनका लागि कम्पनीले १५ करोड सहयोगको घोषणा गरेको हो । उक्त रकम प्रधानमन्त्री दैवीप्रकोष उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको बताइएको छ । साथै, विपत् व्यवस्थापनका लागि यथाशक्य सहयोग गर्न दूरसञ्चार सेवाप्रदायकलाई आग्रह गर्ने निर्णयसमेत भएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए ।

विशाल ग्रुपले दियो दुई करोड ५१ लाख 

भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि विशाल ग्रुपले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा दुई करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।

सामाजिक उत्तरदायित्वअन्तर्गत ग्रुप तथा त्यससँग सम्बन्धित कम्पनीहरूले उपलब्ध गराएको सहयोग रकमको चेक प्रबन्ध निर्देशक अशोककुमार अग्रवालले बुधबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् । बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै विशाल ग्रुपले बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । साथै, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको जनाएको छ ।

यसैबिच विशाल ग्रुपको सामाजिक उत्तरदायित्वसम्बन्धी संस्था भिजी फाउन्डेसनले पनि बाढी प्रभावितका लागि थप सहयोग गर्ने भएको छ । फाउन्डेसनले करिब एक करोड रुपैयाँबराबरका अत्यावश्यक सामग्रीसहितका पाँच हजार बक्स प्रभावित क्षेत्रमा उपलब्ध गराउने जनाएको छ ।

एफवानसफ्टमार्फत एक करोड ३५ लाख 

एफवानसफ्ट ग्रुपअन्तर्गतका कम्पनीले एक करोड ३५ लाख रुपैयाँ बाढी प्रभावितका लागि सहयोग गरेका छन् । इसेवा, फोनपे, एफवानसफ्ट इन्टरनेसनल र इसेवा मनी ट्रान्सफर तथा ग्रुप कम्पनीका कर्मचारीको संयुक्त पहलमा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक करोड ३५ लाख सहयोग गरिएको हो ।  बाढीबाट प्रभावितसँगै उभिने र आवश्यक परेको समयमा राहत तथा पुनर्स्थापनाका कम्पनी र कर्मचारीको संयुक्त प्रयासमा यो योगदान गरिएको हो ।

उद्धार कोषमा मारुती सिमेन्ट्सको एक करोड ११ लाख 

मारुती सिमेन्ट्सले भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा एक करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीका सञ्चालक नन्दकिशोर राठी, मनोजकुमार गोयल, शरद गोयल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत आनन्द नेपालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सो रकमबराबरको चेक हस्तान्तरण गरेका हुन् । विपत् तथा कठिन परिस्थितिमा प्रभावित नागरिकलाई राहत तथा सहयोग पुर्याउने उद्देश्यले सहयोग गरिएको कम्पनीले जनाएको छ । 

कम्पनीले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत देश तथा समाजको हितमा आवश्यक सहयोग र योगदानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । साथै, बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।

सानिमा रिलायन्सद्वारा ७२ लाख प्रदान

विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापनाका लागि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ७२ लाखको एकमुस्ट रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको छ । सरकारको राहत तथा पुनर्निर्माण कार्यमा ऐक्यबद्धता जनाउँदै इन्स्योरेन्सले ५१ लाख तथा सञ्चालक र कर्मचारीको २१ लाख रुपैयाँ योगदानसहित प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम जम्मा गरिएको हो ।

बाढी प्रभावितलाई साइन रेसुंगा बैंकको ६५ लाख सहयोग

साइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले ६५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा आफ्नोतर्फबाट ५५ लाख रुपैयाँ र कर्मचारीको तर्फबाट १० लाख रुपैयाँ गरी कुल ६५ लाख रुपैयाँ सहयोग गरेको हो ।

प्राकृतिक विपत्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायत जिल्लामा मानवीय तथा भौतिक क्षति भएको छ । यो अवस्थामा नागरिकको दैनिक जीवन प्रभावित भइरहेको भन्दै राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले कोषमा रकम प्रदान गरिएको बैंकले जनाएको छ ।

‘विपत्को कठिन घडीमा प्रभावित नागरिकको साथमा रहँदै खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा सरकार र सम्बन्धित निकायलाई सहयोग पुर्याउने मानवीय कार्यमा बैंकले ऐक्यबद्धता जनाएको हो,’ बैंकले भनेको छ । 

बैंकले बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । साथै, बाढीपछि हालसम्म सम्पर्कविहीन नागरिकको सकुशल उद्धार तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।

बर्जर पेन्ट्सले दियो उद्धार कोषमा ५० लाख 

बर्जर पेन्ट्स नेपालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५० लाख सहयोग हस्तान्तरण गरेको छ । प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका लागि प्रदान गरिएको उक्त सहयोगले प्रभावित समुदायलाई आवश्यक सहयोग पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

२५ वर्षदेखि विश्वास र गुणस्तरको पर्याय बन्दै आएको बर्जर पेन्ट्स नेपालले सबैको साझा प्रयास र सहयोगबाट मात्र कठिन परिस्थितिबाट छिट्टै उठ्न सकिने उल्लेख गर्दै समृद्ध नेपाल निर्माणको यात्रामा सधैँ प्रतिबद्ध रहने जनाएको छ ।

छिमेक लघुवित्तका तर्फबाट ४१.३९ लाख प्रदान

छिमेक लुघवित्त वित्तीय संस्थाले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ४१ लाख ३९ हजार सात सय ५२ रुपैयाँ सहयोग गरेको छ । यसमध्ये संस्थाबाट ३० लाख र कर्मचारीबाट ११ लाख ३९ हजार सात सय ५२ रुपैयाँ कोषमा जम्मा गरिएको हो । 

संस्थाले १० भदौको प्राकृतिक विपत्तिबाट रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लामा भएको ठुलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । 

साथै, संस्थाले यस कठिन परिस्थितिमा एक–अर्काको साथ, सहयोग र सहकार्यका साथ अघि बढ्न सबैमा अपिल गरेको छ । 

उद्धार कोषमा ह्वासिया इन्भेस्टमेन्टले गर्यो २० लाख जम्मा

ह्वासिया इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले २० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीका प्रतिनिधि डेभिड यिङले उद्योगमन्त्री गौरी यादवलाई २० लाख रुपैयाँबराबरको चेक हस्तान्तरण गरेका हुन् । उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमार्फत विपत् प्रभावित नागरिकको राहत तथा उद्धारमा खर्च गरिने जनाइएको छ ।

चेक बुझ्दै उद्योगमन्त्री यादवले कठिन समयमा मानवीय सहयोग उपलब्ध गराएकोमा ह्वासिया इन्भेस्टमेन्ट कम्पनीलाई धन्यवाद दिइन् । उनले प्राप्त सहयोग विपत् प्रभावित नागरिकको राहत तथा उद्धारमा सदुपयोग हुने प्रतिबद्धता व्यक्त गरिन् । 

मन्त्री यादवले विपत्का वेला निजी क्षेत्र तथा विभिन्न संघ–संस्थाबाट प्राप्त सहयोगले सरकारको राहत तथा उद्धार अभियानलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने बताइन्  ।

नेको इन्स्योरेन्सले दियो उद्धार कोषमा ३५ लाख सहयोग 
नेको इन्स्योरेन्स लिमिटेडले विपत्बाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३५ लाख रुपैयाँ सहयोग गरेको छ । अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा कम्पनीका तर्फबाट सञ्चालक समितिका सदस्य मणिदेव भट्टराई तथा नायब प्रमुख कार्यकारी अधिकृत गणेश लम्सालले उक्त रकमबराबरको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन् ।

देशमा आइपर्ने प्राकृतिक तथा अन्य विपत्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले उक्त सहयोग प्रदान गरेको हो ।

बाढीपीडितलाई दीपशिखा धितोपत्र कम्पनीको १५ लाख सहयोग

दीपशिखा धितोपत्र कारोबार कम्पनीले भोटेकोशी बाढीपीडितलाई १५ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले बिहीबार प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ पठाएको हो ।

रसुवाको भोटेकोशी बाढीपीडितका लागि थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरेको दीपशिखा धितोपत्र कम्पनीका अध्यक्ष दीपकराज ओलीले जानकारी दिए । संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत बाढीपीडितलाई सहयोग गरेको उनको भनाइ छ । गत १० भदौमा रसुवाको भोटेकोशीमा तिब्बततिरबाट हिमनदी चट्टान फुटेर आएको बाढीले व्यापक जनधनको क्षति भएको छ ।

एनएमबि क्यापिटलमार्फत उद्धार कोषमा १५ लाख 

एनएमबि क्यापिटल लिमिटेडले बाढी प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सघाउन प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ सहयोग गरेको छ । साथै, सो रकमबाहेक यस संस्थाका कर्मचारीले छुट्टै रकम संकलन गरी विभिन्न राहत सामग्री स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा टेकुमा जम्मा गरेका छन् । 

बाढीपीडितलाई हानको सहयोग

होटेल संघ नेपालअन्तर्गतका अधिकांश सदस्य होटेलले प्रधानमन्त्री दैवीप्रकोप कोषमा आर्थिक सहयोग गरेका छन् । जसअन्तर्गत होटेल किङ्सबेरीले एक करोड ११ लाख, चन्द्रागिरि हिल्सले ५२ लाख ५१ हजार, होटेल मेची क्राउनले २६ लाख, एभरेस्ट होटेलले २० लाख र रामडा इन्कोर ठमेलले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग गरेका छन् । अन्य सदस्य होटेल तथा कर्मचारीबाट समेत राहत कोषमा रकम जम्मा भइरहेको संघले जनाएको छ । संघका अनुसार कतिपय होटेलले खाद्यान्न, लत्ताकपडा, औषधि तथा अन्य अत्यावश्यक सामग्री प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा उपलब्ध गराइरहेका छन् । संघका अनुसार अधिकांश सदस्य होटेलले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेका छन् । 

सुझावित समाचार