तीन पाकिस्तानी खेलाडी चम्किएपछि सगरमाथा स्म्यासर्सले नेपाल भलिबल लिग (एनभिएल)मा लगातार दोस्रो जित निकालेको छ । शनिबार त्रिपुरेश्वरस्थित कभर्डहलमा सगरमाथाले खप्तड फाल्कोन्सलाई सोझो सेटमा हरायो । सगरमाथाले खेल २५–१८, २५–१८, २५–१९ ले आफ्नो पक्षमा पारेको हो । लगातार दोस्रो जितसँगै सगरमाथाले ६ अंक जोडेको छ । खप्तडले हारबाट प्रतियोगिताको सुरुवात गर्यो ।
यसअघि उद्घाटन खेलमा सगरमाथाले मधेश वारियर्सलाई ३–१ को सेटमा पराजित गरेको थियो । अब, खप्तडले आइतबार तथा सगरमाथाले सोमबार कर्णाली शिवराजको सामना गर्नेछन् । शनिबारै सम्पन्न पहिलो खेलमा काठमाडौं रेड्सले मधेश वारियर्सविरुद्ध ३–२ को रोमाञ्चक जित निकाल्यो ।
उत्सव खड्काको प्रशिक्षणमा रहेको सगरमाथाले पाकिस्तानका तीन विदेशी कोर्टमा उतारेको थियो । ऐमल खान, फखर उद्दिन र फैजल उल्लाहले उत्कृष्ट प्रदर्शन गर्दा टोलीले लगातार दोस्रो जित निकाल्दै ६ अंक जोडेको छ । यी तीन खेलाडी पछिल्लो वर्षहरूमा नेपालमा आएर घरेलु लिग खेल्दै आएका थिए । टिमको कप्तानमा राष्ट्रिय टिमका कप्तान हरिहजुर थापा छन् । विदेशी खेलाडीसँगै दुवै खेलमा हरिहजुर र रूपेन्द्र नेपाली, भीम गाहा तथा दीपकराज जोशीले सानदार प्रदर्शन गरेका छन् । यता, रूपेकुमार विष्ट प्रशिक्षक तथा राष्ट्रिय टोलीका सदस्य धीरोजकाजी बस्नेत मार्की रहेको खप्तडले सोचेजस्तो सुरुवात गर्न सकेन । टोलीले विदेशी खेलाडीबाट आशा गरिएको जस्तो प्रदर्शन पनि पाएन । फाल्कनले ब्राजिलका सेटर जो मौरिसिओ डा. सिल्भा नेटो, रसियाका ओपोसाइट हिटर अर्टम किसेलेभ र अफ्रिकन राष्ट्र बेनिनका बोस्को डेटेकोलाई कोर्टमा उतारे पनि सोचेअनुसार नतिजा निकाल्न सकेन ।
खप्तड फाल्कोनलाई लोट्टो नेपालको साथ
फ्रेन्चाइज टोली खप्तड फाल्कोनलाई स्पोर्टस् ब्रान्ड कम्पनी लोट्टो नेपालले स्पोन्सर गरेको छ । इटालियन कम्पनी लोट्टोले पहिलोपटक आयोजना भइरहेको फ्रेन्चाइज भलिबल नेपाल भलिबल लिग (एनभिएल)मा जोडिने उद्देश्यसहित खप्तड फाल्कोनसँग सहकार्य गरेको हो । सम्झौताअनुसार खप्तडलाई एनभिएल खेल्न लोट्टोले किट उपलब्ध गराउनेछ । खप्तडले पनि प्रतियोगिता दौरान अभ्यास र खेलमा लोट्टोकै किट्स लगाउनुपर्नेछ । लोट्टो नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै दरबारमार्ग, चावहिलसँगै विभिन्न स्थानमा आउटलेट रहेको छ ।
यसअघि लोट्टोले नेपालका विभिन्न फुटबल क्लब, क्रिकेट क्लब र संघ संस्थासँघ यस्तै सम्झौता गर्दै आएको छ । लोट्टो पछिल्लो समय नेपाली खेलकुदमा रुचाइएको स्पोर्टस् ब्रान्डमा पर्छ । लोट्टोले नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई आफ्नो ब्रान्ड एम्बास्डर पनि बनाएको छ ।
काठमाडौंको विजयी सुरुवात
प्रतियोगितामा काठमाडौं रेड्सले विजयी सुरुवात गरेको छ । शनिबार नै भएको दोस्रो पहिलो खेलमा काठमाडौंले मधेश वारियर्सलाई ३–२ को सेटमा पराजित गर्यो । काठमाडौं २०–२५, २६–२४, २५–१७, २२–२५ र १६–१४ ले विजयी भयो । काठमाडौं पहिलो खेलमै जित निकाल्न सफल भयो । यद्यपि, खेल पाँचौँ सेटमा पुगेकाले काठमाडौले दुई अंक पाउँदा पराजित मधेशले पनि एक अंक खोस्यो । मधेशको भने यो लगातार दोस्रो हार हो । यसअघि टोली सगरमाथासँग ३–१ ले पराजित भएको थियो ।