मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय दिवसको अवसरमा बर्दियाका नेपाल–भारत सीमा क्षेत्रमा घरदैलो तथा सचेतनामूलक कार्यक्रम गरिएको छ।
२०औँ मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय दिवसका अवसरमा सीमा क्षेत्रका स्थानीयवासीलाई मानव बेचबिखन तथा ओसारपसारबाट जोगिन अपनाउनुपर्ने सावधानीबारे जानकारी दिँदै पर्चा–पम्प्लेटसमेत वितरण गरिएको माइती नेपाल बर्दियाकी प्रमुख गायत्री रिमालले बताइन्।
उनका अनुसार सीमा क्षेत्रमा आवतजावत गर्ने व्यक्ति तथा स्थानीय समुदायलाई अपरिचित व्यक्तिको प्रलोभनमा नपर्न, रोजगारी तथा वैदेशिक यात्राका क्रममा आवश्यक कागजात र सूचनाको यकिन गर्न तथा शंकास्पद गतिविधिबारे सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरिएको थियो।
गुलरियाको सुरजपुर नाका, मधुवनको शक्तिपुर नाका र बढैयातालको फुटाहा नाकामा गरिएको कार्यक्रममा प्रविधिको सुरक्षित तथा जिम्मेवार प्रयोगमा समेत जोड दिइएको थियो। सामाजिक सञ्जाल तथा अन्य प्रविधिको दुरुपयोगबाट हुन सक्ने मानव बेचबिखन तथा ओसारपसारका जोखिमप्रति सचेत रहन स्थानीयवासीलाई आग्रह गरिएको थियो।
यस वर्ष ‘प्रविधिको सही प्रयोग र सजगता : मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय दिवस मनाइएको छ।
माइती नेपालले नेपाल प्रहरीसँगको सहकार्यमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि सीमा क्षेत्रमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।