विराटनगरमा कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिँदै आएको राधाकृष्ण रथयात्रा शनिबार सुरु भएको छ। विराटनगरको तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट हरेक वर्ष निकालिँदै आएको राधाकृष्ण रथयात्रा यो वर्ष ५९ औँ संस्करणका रूपमा दिउँसो ३ बजेदेखि निकालिएको हो।
रथयात्राको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उदघाटन गरे। उनले विराटनगरको रथयात्रा धार्मिक आस्था, सांस्कृतिक मौलिकता, सामाजिक एकता र मानवीय सेवाको सन्देशलाई सशक्त बनाउन योगदान गर्दै आएको बताए।
राधाकृष्ण रथयात्राले हरेक वर्ष तीनपैनी चोकदेखि गोल्छामोड, जलजला मोड हुँदै ट्राफिक चोक रोडशेष चोक, महेन्द्र चोक हुँदै बरगाछी भएर दुर्गाचोक भएर करिब ८ किलोमिटर दूरी तय गरेर विराटनगर बजारको परिक्रमा गर्दै पुन तीनपैनीस्थित राधाकृष्ण मन्दिरमै आएर समापन हुने गरेको छ।
रथयात्रालाई भव्य बनाउन भजनकिर्तन समूहसहित विभिन्न ९४ वटा धार्मिक झाँकी सहभागी भएका छन्। रथयात्रामा नेपाल र भारतका हजारौँ मानिसहरू सहभागी हुँदै आएका छन्। रथयात्रालाई सुरक्षित बनाउन मोरङ प्रशासनले १५ सय सुरक्षाकर्मी परिचालन गराएको छ। विसं १९८८ देखि खाटमा राखेर निकालिँदै आएको राधाकृष्ण यात्रा २०२५ देखि भव्य रथयात्राका रूपमा निकाल्न थालिएको हो।