महोत्तरीमा भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको करिब २ करोड ४० लाख रुपैयाँबराबरका एप्पल कम्पनीका एयर वर्डस् बरामद भएका छन्।
सशस्त्र प्रहरीका अनुसार सोनमा गाउँपालिका–६ मगरथानाबाट शनिबार बिहान १ हजार २०० थान एयर वर्डस् बरामद गरिएको हो।
सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण महोत्तरी, सीमा सुरक्षा गुल्म रघुनाथपुर र बोर्डर आउटपोस्ट खैरवनीको संयुक्त टोलीले भारतबाट अवैध रूपमा ल्याउँदै गरेको अवस्थामा ती सामान बरामद गरेको जनाएको छ।
प्रहरीको गस्ती टोलीलाई देखेपछि एयर वर्डस् ल्याउने व्यक्ति भने सामान छाडेर फरार भएका थिए। फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।
बरामद गरिएका एयर वर्डस् आवश्यक कानुनी प्रक्रियाका लागि भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।