रसुवाको क्रन्दन, सुरुङको अँध्यारो र आत्मग्लानि !

शनिबार, २० भदौ, २०८३
डिजिटल संस्करण
  • विश्वका अति विकसित र औद्योगिक राष्ट्रले फैलाएको असीमित कार्बन उत्सर्जनको क्रूर मूल्य आज हाम्रा निर्दोष हिमाली गाउँ र सोझा नागरिकले आफ्नो प्राणको आहुति दिएर चुकाउनुपरिरहेछ

भोटेकोशी र र त्रिशूलीको किनारैकिनार व्याप्त असह्य चीत्कार अनि सुरुङअगाडि टोलाइरहेका अश्रुपूरित आँखा, जुन दिन जलवायु परिवर्तनको भयावह प्रकोपले रसुवालाई कसैले सोच्नै नसक्ने उजाड मसानघाटमा परिणत गरिदियो, त्यो दृश्यले मेरो छातीलाई अझै पनि निरन्तर छियाछिया पारिरहेछ ।

त्यस दिन म हेटौँडामा संसदीय दलको बैठकमा व्यस्त थिएँ । आकाश र हावा अरू दिनजस्तै सामान्य थिए । बैठक भर्खरै सुरु भएको थियो । सोही समयमा जब माननीय अमृता नेपालज्यूले आफ्नै मोबाइलको स्क्रिनमा आएको एउटा म्यासेज मतिर सोझ्याउनुभयो, लाग्यो– मेरो खुट्टामुनिको धर्ती एकाएक भासियो र ब्रह्माण्ड नै शून्यमा बिलायो ।

रसुवागढी नाका टिमुरे भन्सार ट्रान्सपोर्टमा काम गर्नु हुने कपिल पाख्रिनले कामिरहेका औँलाले पठाउनुभएको त्यो म्यासेजका शब्द कुनै साधारण खबर थिएनन्, ती त रसुवाको छातीबाट उठेका अन्तिम कारुणिक पुकार थिए । म्यासेजमा लेखिएको थियो, ‘टिमुरेको लेन्दी खोलामा अप्रत्याशित भीषण बाढी आयो, निकै ठुलो क्षति भयो, तलतिरका सबैलाई तुरुन्त खबर गरिदिनुहोला !’

मोबाइलको स्क्रिनमा तैरिएका ती पंक्ति आउनै लागेको महाप्रलयको महाघण्टी थिए । खबर पाउनेबित्तिकै मेरो सातो उड्यो, तर कर्तव्यको चेतले सम्हालिँदै मैले एक सेकेन्ड पनि ढिला नगरी तल्लो तटीय क्षेत्रका जनप्रतिनिधि र त्रासमा रहेका स्थानीय बासिन्दालाई फोन गरेर सचेत गराउन थालेँ । लगत्तै बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरज्यूलाई सम्पर्क गरेर परिस्थिति कति भयानक छ भन्ने यथार्थ विवरण गराएँ । उहाँले पनि थाहा पाइसक्नुभएको रहेछ ।

त्यही छटपटीबिच नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डको फोन आयो, ‘तपाईं कता हुनुहुन्छ ? तत्काल संकटको सामना गर्न सामूहिक रूपमा सिंगो शक्ति लगाएर जुट्नुहोला । अहिले सरकारको आलोचना गर्ने होइन । नपुगेको सवालमा सुझाव दिँदै यो महा प्रलयबाट पीडितलाई ढिलो नगरी उद्धार गर्न सहयोग गर्नुहोला,’ अध्यक्षको त्यो फोन र निर्देशनले विषम परिस्थितिमा मलाई ठुलो मानसिक आड र हौसला मिल्यो ।

घडीको काँटासँगै दौडिरहेको संकटलाई महसुस गरी बागमती प्रदेशको मुख्यमन्त्रीज्यूले तत्कालै प्रदेश विपत् व्यवस्थापनको आपत्कालीन बैठक डाक्नुभयो । हामीसँग सोच्ने, अडिने या सुस्केरा हाल्ने समयसम्म बाँकी थिएन । बैठक सकिनेबित्तिकै मुख्यमन्त्री, अर्थमन्त्री सरल सहयात्री पौडेल, खानेपानी तथा सिँचाइमन्त्री, नुवाकोट र रसुवाका प्रदेश सभा सदस्यको टोली सीधै प्रलयको दिशातर्फ लाग्यौँ ।

भाद्र १० गतेको अन्धकार र विभीषिकाबिच नै हामी नुवाकोटको बाढीग्रस्त क्षेत्रमा पुग्यौँ । त्रिशूली बजार, ढुंगे बजारलगायतक स्थानको प्रत्यक्ष अवलोकन, पीडितसँग भेटघाट तथा नुवाकोट विपत् व्यवस्थापन समितिसँगको बैठकमा सडक, तुइन, बेलिब्रिज र झोलुंगे पुल निर्माण एवं उद्धार तथा राहतसम्बन्धी महत्वपूर्ण निर्णय गरियो । नुवाकोटमा सम्माननीय प्रधानमन्त्री स्वयं आइपुग्नुभएको थियो । मुख्यमन्त्री र प्रधानमन्त्रीबिचको गम्भीर संवाद र उद्धारको ढाँचा तय भएपछि भाद्र ११ गते मुख्यमन्त्रीसहितको हाम्रो टोली रसुवाको क्षतविक्षत् भूगोल ऐतिहासिक बेत्रावती बजार र उत्तरगया तथा कैदलेटार पुग्यो । त्यहाँको भयानक अवस्थाको प्रत्यक्ष अवलोकनपछि हामी सीधै धुन्चेतर्फ लाग्यौँ ।

जब हामीले रसुवाको भुइँमा पाइला टेक्यौँ, त्यहाँ हामीले जे देख्यौँ, त्यसको भयानक चित्र कुनै पनि मानव मस्तिष्कले कल्पनासम्म गर्न सक्दैनथ्यो । सम्पूर्ण सडक सञ्जाल छिन्नभिन्न थिए । पाखा खसेर नदीमा मिसिएका थिए । मानव बस्ती बगरमा परिणत भइसकेका थिए ।

जिल्ला विपत् व्यवस्थापन समितिको आपत्कालीन बैठकलगत्तै प्रमुख जिल्ला अधिकारीसहित सम्पूर्ण सरकारी कर्मचारी र स्थानीय तहका सम्पूर्ण जनप्रतिनिधि अहोरात्र उद्धार कार्यमा खटिनुभयो । तर, भौगोलिक विकटता र ध्वस्त सडकका कारण सर्वसाधारण र हाम्रो तहबाट उद्धार सम्भव थिएन । त्यसपछि नेपाली सेनाको कुशल कमान्डमा हेलिकोप्टरमार्फत उद्धार कार्यलाई अत्यन्तै तीव्र गतिमा अगाडि बढाइयो । भोक, तिर्खा, अनिद्रा र थकानको पर्वाह नगरी आफ्नै ज्यान बाजी राखेर खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवानले देखाएको वीरता र मानवीय साँच्चै अतुलनीय थियो । उहाँहरूलाई उच्च सम्मान व्यक्त गर्छु । साथै, अहोरात्र खटिनुभएका सम्पूर्ण कर्मचारी, स्थानीय तहका जनप्रतिनिधि र सम्पूर्ण दलका नेता तथा कार्यकर्ता, जनता र विभिन्न संघसंस्थालाई उच्च सम्मान व्यक्त गर्न चाहन्छु ।

चीनको तिब्बत क्षेत्रमा अवस्थित विशाल हिमताल जलवायु परिवर्तनको चरम ताप सहन नसकेर फुटेपछि भोटेकोशीमा पोखिँदाको त्यो क्षण केवल प्राकृतिक प्रकोप मात्र थिएन, त्यो त एउटा युगकै महाप्रलय थियो । हिउँ र बरफको विशाल साम्राज्य जब एकाएक फुटेर त्रिशूलीको खोँचतिर बहुलाउँदै ओर्लियो, त्यसले आफ्नो बाटोमा भेटिएका पहाड, पहरा र मानव सभ्यताका सम्पूर्ण चिह्नलाई क्षणभरमै निल्यो । प्रकृति जब यसरी अनियन्त्रित, क्रुद्ध र हिंस्रक बन्छ, मानिसले वर्षौंको मिहिनेत र अत्याधुनिक प्रविधिले खडा गरेका ठुल्ठुला भौतिक संरचना कति असहाय, तुच्छ र कमजोर साबित हुँदा रहेछन् भन्ने कुरा जलविद्युत् आयोजनामा मात्र होइन, चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक जीवनरेखा मानिने रसुवागढी नाका, मितेरी पुल र भन्सार पूर्वाधारका साथै रसुवागढी, टिमुरे, रोंगा, स्याफ्रुबेसी, हाकुबेसी, मैलुङ, सल्लेटार, सिम्ले, शान्ति बजार, पहिरेबेसी, खाल्टे, कैदलेटारदेखि ऐतिहासिक उत्तरगया र बेत्रावती बजारसम्मको विध्वंसले छर्लंग पारिदियो ।

त्यो लेदो र विशाल चट्टानसहित बहुलाएको त्रिशूलीको रौद्र रूप रसुवामा मात्रै थामिएन । यसको विनाशकारी असर तल्लो तटीय क्षेत्रतर्फ सोझिँदा नुवाकोटका ऐतिहासिक धरोहर र व्यापारिक केन्द्र, बेत्रावती, सोले, तुप्चे, भइँसे, त्रिशूली बजार, ढुंगे बजार र देवीघाटजस्ता पुराना बस्तीलाई क्षणभरमै तहसनहस बनायो । पुस्तौँदेखि नदीको काखमा फस्टाएका सभ्यता, संस्कृति र जीवनशैली ढुंगा र हिलोको जगमुनि विलीन भए ।

नेपाल र चीनबिचको प्रमुख व्यापारिक ढोका ठप्प हुनुका साथै लाङटाङ राष्ट्रिय निकुञ्ज, गोसाइँकुण्ड र मानसरोवर यात्राका लागि प्रसिद्ध यो हिमाली पर्यटकीय क्षेत्र एकैझट्कामा सुनसान बन्यो । पुस्तौँदेखि पर्यटन, होटेल व्यवसाय र अन्तर्राष्ट्रिय व्यापारमा आश्रित स्थानीय बासिन्दाको रोजगारी र भविष्य बाढीको लेदोमुनि पुरियो । त्रिशूलीको यो वितण्डाले धादिङ र चितवनका तटीय क्षेत्रलाई समेत आतंकित बनाउँदै ठुलो धनजनको क्षति पुर्यायो । आफ्नै आँखाअगाडि बग्दै गरेका आफ्ना आफन्त, भत्किँदै गरेका पुल र घरहरू अनि पुरिँदै गरेका खेतबारी हेर्नुबाहेक मानिससँग कुनै विकल्प थिएन ।

गहिरिएर हेर्ने हो भने यो केवल बर्खाको सामान्य मौसमी बाढी वा विपत्ति मात्रै थिएन । यो त विश्वव्यापी रूपमा तीव्र गतिमा भइरहेको जलवायु परिवर्तन र पृथ्वीको बढ्दो तापमानले हाम्रा संवेदनशील हिमाली क्षेत्रमा सिर्जना गरेको भयावह संकटको सोझो नतिजा हो ।

भूगर्भीय अध्ययन र स्थानीय हिमइतिहासलाई केलाउने हो भने आजभन्दा करिब आठ सय वर्षपहिले (१३औँ शताब्दीतिर) पनि लेन्दी खोला र यस जलाधार क्षेत्रमा यस्तै प्रकृतिको महाप्रलय आएको संकेत पाइन्छ । हिमाली क्षेत्रमा अध्ययन गर्ने भूगर्भविद्का अनुसार चट्टान र माटोको संरचनाले यो भूगोल प्राचीन समयदेखि नै विशाल हिमताल विस्फोट र महाविपत्तिका शृंखलाबाट गुज्रिँदै आएको पुष्टि गर्छ । तर, उतिवेला प्रकृतिको आफ्नै चक्र थियो भने आज मानवनिर्मित प्रदूषण र तीव्र तापमान वृद्धिका कारण यस्ता महाविपत्तिको पुनरावृत्ति झन् छिटो र विनाशकारी रूपमा भइरहेको छ ।

विश्वका अति विकसित र औद्योगिक राष्ट्रले फैलाएको असीमित कार्बन उत्सर्जनको क्रूर मूल्य आज हाम्रा निर्दोष हिमाली गाउँ र सोझा नागरिकले आफ्नो प्राणको आहुति दिएर चुकाउनुपरिरहेछ । हामीले कुनै अपराधै नगरी भोग्नुपरेको यो नियति इतिहासकै सबैभन्दा कठोर, अन्यायपूर्ण र डरलाग्दो यथार्थ बनेर आज हाम्रा सामु उभिएको छ । यस महाप्रलयले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको मुद्दालाई कडा रूपमा उठाउनुपर्ने र साना अनि हिमाली देशले भोगिरहेको यो ठुलो संकटविरुद्ध विश्वव्यापी आवाज बुलन्द गर्नुपर्ने आवश्यकतालाई अझ टड्कारो बनाएको छ ।

जब हामी बाढीको विभीषिकाले थिल्थिलो भएको घटनास्थलमा पुग्यौँ, त्यहाँको दृश्य शब्दमा वर्णन गर्नै नसकिने गरी कारुणिक र कहालीलाग्दो थियो । त्यहाँका मानिस पूर्ण रूपमा आतंकित, हतप्रभ र स्तब्ध थिए । कसैको आँखामा आँसु सुकिसकेको थियो भने कसैको रुवाबासीले रसुवाका अग्ला पहाड र खोँच सुसाइरहेका थिए । आफन्त गुमाएकाहरूको चीत्कारले पत्थरको मुटु भएकाहरूलाई पनि रुवाउँथ्यो ।

करिब एक हजारभन्दा बढी घरपरिवार बाढीको भीषण बहावमा बगेर एकैछिनमा टुहुरा, सुकुम्बासी तथा विस्थापित बनिसकेका थिए । वर्षौंको पसिना, हाडछाला घोटेर उठाएका सपनाका घर, पौरखी हातले हरियाली बनाएका खेतबारी र सुनौला भविष्यका चाहना, सबै क्षणभरमै नदीको लेदो, बालुवा र विशाल चट्टानको जगमुनि सदाका लागि पुरिइसकेका थिए । पुर्खादेखि जोडेको सम्पत्ति मात्र होइन, आफ्नै परिचय र चिनारीसमेत बाढीले बगाएर लगेको दृश्यले मन छियाछिया बनाउँथ्यो ।

जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको आधिकारिक निवेदनअनुसार एक हजार ९६७ जना नेपाली र १६३ जना विदेशी नागरिक गरी कुल दुई हजार १३० जना मानिस बेपत्ता भएको प्रारम्भिक विवरण आएको छ । तर, अहिलेसम्म ६५ जिल्ला र दर्जनौँ देशका नागरिक हराइरहनुभएको छ भने सीमा क्षेत्र, पर्यटकीय क्षेत्र, मानसरोवर जानका लागि आएका यात्रु, सयौँको संख्यामा रहेका ट्रक तथा कन्टेनर, बस र साना गाडी, सयौँ इभी गाडीका चालक तथा सहचालक, शिक्षक, कर्मचारी, सेना, सशस्त्र र जनपथ प्रहरी, व्यापारी र सातवटा जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी, प्राविधिक एवं अस्थायी कामदारको ठुलो संख्यालाई गणना गर्दा, प्रत्यक्षदर्शीसँगको कुराकानी सुन्दा र सुरक्षाकर्मीको आकलनसमेतलाई हेर्दा बेपत्ता हुनेहरूको कुल संख्या पाँच हजार नाघ्न सक्ने अनुमान गरिँदा मेरो छाती चिसो भएर आयो । त्यो विरक्तलाग्दो संख्या केवल तथ्यांक मात्र थिएन, ती त हजारौँ परिवारका सहारा, काख र सुनौला भविष्यका टुक्रा थिए ।

यस्तो विषम परिस्थितिमा पनि हामीले हिम्मत हारेनौँ । स्थानीय प्रशासन, अहोरात्र खटिएका सुरक्षा निकाय, स्थानीय तह र सर्वसाधारणको असीम सहयोगमा हालसम्म एक हजार ७३१ जना नागरिकलाई मृत्युको मुखबाट सकुशल उद्धार गर्न सफल भयौँ । उद्धार गरिएका नागरिकलाई काठमाडौंमा दुईवटा तथा रसुवाका त्रिशूलीवारि र पारि गरी कुल नौवटा अस्थायी आश्रयस्थल (सेल्टर) बनाएर व्यवस्थित गरियो । काठमाडौंका आश्रयस्थलमा करिब २०० परिवार र रसुवाका वारि–पारिका आश्रयस्थलमा करिब एक हजारभन्दा बढी परिवारलाई राखेर तत्कालका लागि गाँस, वास, लत्ताकपडा र औषधिको प्रबन्ध त गरियो, तर उनीहरूका आँखामा छाएको त्यो गहिरो शून्यता, भय र कहालीलाग्दो त्रास मेट्न कसैले पनि सक्ने अवस्था थिएन ।

विशेषगरी, बाढीमा आमा–बुबा गुमाएर टुहुरा बनेका अबोध बालबालिका, सहाराविहीन बनेका असहाय, अनि आफ्ना सन्तान र जीवनभरको कमाइ गुमाएर पालमुनि टोलाइरहेका वृद्धवृद्धाको कहालीलाग्दो दृश्यले राज्यको उपस्थितिमाथि नै ठुलो प्रश्नचिह्न खडा गरिरहेको भान हुन्थ्यो । उनीहरूका टोलाइरहेका आँखाले राज्यसँग एउटै प्रश्न गरिरहेका थिए, ‘अब हाम्रो भविष्य कहाँ छ ? हाम्रा गुमेका अभिभावक र सहारा कसले फर्काउँछ ?’

यस महाप्रलयको सबैभन्दा हृदयविदारक, अत्यासलाग्दो र सातो उडाउने पाटो भनेको हाम्रा राष्ट्रिय गौरवका जलविद्युत् आयोजनामा भएको विनाश र सुरुङभित्र फसेका सयौँ श्रमिकको कारुणिक स्थिति थियो । राष्ट्रको अर्बौँ लगानी र समृद्धिको सपना जोडिएका माथिल्लो त्रिशूली–१ (२१६ मेगावाट), रसुवागढी (१११ मेगावाट), त्रिशूली ३ ‘ए’ (६० मेगावाट), त्रिशूली ३ ‘बी’ (४३ मेगावाट), चिलिमे (२२ मेगावाट), लाङटाङ (२० मेगावाट), मध्य गंगा (१७ मेगावाट) र भोटेकोशी लाङटाङ (१२० मेगावाट) जस्ता जलविद्युत् आयोजना पूर्ण रूपमा ध्वस्त भई मसानघाटजस्तै बनेका छन् । वर्षौँको मिहिनेतले निर्मित ड्याम, पावरहाउस र पूर्वाधार बाढीको लेदोमा विलीन भइसकेका छन् ।

तर, भौतिक संरचनाको क्षतिभन्दा हजारौँ गुणा बढी पीडादायी दृश्य त ती सातवटा हाइड्रोका सुरुङहरूमा फसेका आफन्तहरूमा देखिन्थ्यो । त्यहाँ ३०० भन्दा बढी स्वदेशी तथा विदेशी इन्जिनियर, दक्ष प्राविधिक र रातदिन खट्ने मजदुर, भदौ १० गतेदेखि निरन्तर अँध्यारो, चिसो र निस्सासिँदो सुरुङभित्र जीवन र मृत्युको कठोर दोसाँधमा फसेका थिए । बाहिर बाढीको गर्जन थियो, भित्र अक्सिजनको कमी र घट्दो आशा ।

हामीसँग देशैभरिबाट फसेका मजदुरका आफन्तले हाम्रा हात समातेर जसरी आँसु बगाए, सामाजिक सञ्जालमार्फत अनुनय–विनय गरे, त्यो दृश्य अत्यन्तै पीडादायक थियो । भोक र निद्रा बिर्सेका उनीहरू भक्कानिँदै बिलौना गर्थे– ‘सरकार ! हाम्रा मान्छे अझै सुरुङभित्र जीवितै हुनुहुन्छ ! उहाँहरूले अँध्यारोमा सास फेरिरहनुभएको छ होला ! कृपया जसरी भए पनि निकालेर दिनुहोस् । हामीलाई घरखेत केही चाहिएको छैन, हाम्रा मान्छे बचाएर ल्याइदिनुहोस् ! यदि नेपालमा उद्धार गर्ने प्रविधि र मान्छे छैनन् भने विदेशबाटै विशेषज्ञ, रोबोट र मेसिन झिकाउनुहोस्, तर सेकेन्डको पनि ढिला नगरिदिनुहोस् !’

उनीहरूको यो कारुणिक क्रन्दनमा एकातिर आफ्ना प्रियजन जीवितै फर्किने असीम आशा र प्रार्थना थियो भने अर्कोतिर राज्यको सुस्तता र लाचारीप्रतिको चरम आक्रोश । सुरुङभित्र उद्धारको प्रयास अत्यन्तै जोखिमपूर्ण र जटिल बनेको थियो । सुरक्षा निकायका साहसी उद्धार टोलीले आफ्नो ज्यान जोखिममा राखेर सुरुङभित्र छिर्ने प्रयास गरेका थिए । रसुवागढी हाइड्रोको सुरुङमा उद्धार टोली ६५ मिटरसम्म पुगे पनि पावरहाउससम्म पुग्न नसकेको र माथिल्लो त्रिशूली–१ मा १६० देखि १६५ मिटरसम्म भित्र छिर्न सफल त भयो, तर अगाडि थुप्रिएको गहिरो भीषण लेदो, भारी चट्टान र गुम्सिएको विषालु ग्यासका कारण थप उद्धार गर्न सकिरहेको थिएन । चिलिमे हाइड्रोको सुरुङमा प्रवेश गर्ने प्रयास निरन्तर जारी रहे पनि हामीसँग भएका परम्परागत उपकरण र आधुनिक प्रविधिको अभावमा काम अघि बढ्न सकेको थिएन ।

अँध्यारो सुरुङभित्र आफ्ना मान्छे तड्पिरहेका छन् भन्ने थाहा हुँदाहुँदै पनि उद्धार गर्न नसक्नुको त्यो विवशता, र बाहिर आफन्तहरूको त्यो चीत्कार सुनिरहनु कुनै पनि संवेदनशील मानिसका लागि सम्भव थिएन । जनप्रतिनिधिका रूपमा हामी आफैँ पनि असीम मानसिक दबाब, छटपटी र लाचारीको चरम बिन्दुमा पिल्सिरहेका थियौँ ।

तितो यथार्थ के हो भने यति ठुलो, जटिल र प्राविधिक रूपमा अप्ठ्यारो विपत्को सामना गर्न हामीसँग आवश्यक पर्ने विशिष्टीकृत दक्ष जनशक्ति र अत्याधुनिक रोबोटिक तथा प्राविधिक उपकरणको चरम अभाव स्पष्टै देखियो । खोज र उद्धारको प्रारम्भिक चरणमै जुन तदारुकताका साथ हामीले अन्तर्राष्ट्रिय विशेषज्ञ टोली र आधुनिक उपकरण भिœयाउनुपर्थ्यो, त्यहाँ हाम्रो समग्र राज्य संयन्त्र चुक्यो । सुरुङभित्र अक्सिजन घटेर जीवन र मृत्युको संघर्ष गरिरहेका सयौँ नागरिकको जीवन रक्षाका लागि चाहिने प्रविधि, पूर्वतयारी र द्रुत निर्णय क्षमतामा हाम्रो व्यवस्थापन फितलो साबित भयो । हामीले सातवटै सुरुङमा फलामका पाइप पसाएर त्यसमार्फत अक्सिजन पठाउनसमेत सकेनौँ ।

यसका साथै, विपत् व्यवस्थापनमा हाम्रो आन्तरिक कार्यविभाजन र समन्वय पनि चुस्त हुन सकेन । यदि संकटको पहिलो प्रहरमै स्पष्ट कार्यक्षेत्र तोकेर नेपाली सेनालाई टनेल (सुरुङ) भित्र फसेका मानिसको जोखिमपूर्ण उद्धार, सशस्त्र प्रहरीलाई नदी र बाहिरको उद्धार, जनपथ प्रहरीलाई शव व्यवस्थापन तथा सुरक्षा, र निजामती कर्मचारी एवम् स्थानीय तहलाई एकद्वार प्रणालीबाट एकीकृत राहत वितरणको जिम्मेवारी सुम्पिएको भए हामीले यो महासंकटको सामना अझै धेरै प्रभावकारी ढंगले गर्न सक्ने थियौँ । स्पष्ट कार्यविभाजनको अभावमा कतिपय ठाउँमा प्रयास दोहोरिने र प्राथमिकता भौँतारिने स्थिति सिर्जना भयो ।

सबैभन्दा दुःखद र कारुणिक कुरा त रसुवाको उबडखाबड र ध्वस्त भौगोलिक अवस्थाका कारण संकलित मृत शरीरको सम्मानजनक व्यवस्थापन गर्नका लागि उपयुक्त जमिनसम्म उपलब्ध हुन सकेन । एकातिर मृत शरीर कुहिएर महामारी फैलिन सक्ने गम्भीर स्वास्थ्य संकटको त्रास थियो भने अर्कोतिर मृतकप्रतिको मानवीय संवेदना र धार्मिक–सांस्कृतिक संस्कार, यी दुवैबिच शव व्यवस्थापनका लागि स्पष्ट नीति, उपयुक्त विधि र निश्चित स्थल तोक्ने ठोस निर्णय राज्यका माथिल्लो निकायले समयमै लिन सक्नुपर्थ्यो ।

यद्यपि, यति धेरै सीमा, साधन–स्रोतको कमी र भौगोलिक विकटताबिच पनि छोटो समयमा पहिलो चरणको उद्धार कार्यलाई सुरक्षा निकाय, सरकारी कर्मचारी, स्थानीय तह, प्रदेश तथा सम्पूर्ण जनप्रतिनिधि, राजनीतिक दलका कार्यकर्ता, विभिन्न संघसंस्था र आमनागरिकको अभूतपूर्व साहस र ऐक्यबद्धताका साथ अगाडि बढाउन सक्नुलाई एउटा ठुलो मानवीय उपलब्धि नै मान्नुपर्छ ।

तर, एउटा जनप्रतिनिधिको नाताले म आफूलाई यस विफलता र कमी–कमजोरीको जिम्मेवारीबाट कुनै पनि हालतमा अलग राख्न सक्दिनँ । म आफैँ त्यो भयानक दृश्यको प्रत्यक्ष साक्षी बनेर धुन्चे र रसुवाका कुनाकाप्चामा अहोरात्र खटिएँ, तापनि सुरुङभित्र अँध्यारोमा तडपिरहेका ती निर्दोष दाजुभाइलाई बचाउन राज्यको सर्वोच्च निकायमा जति प्रभावकारी दबाब, समन्वय र पहल पुर्याउनुपर्ने थियो, त्यो पुर्याउन नसकेको गहिरो महसुस मलाई भइरहन्छ ।

सरकारको ध्यान पूर्ण रूपमा आकर्षित गराउन र द्रुत गतिमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने निर्णय गराउन म कतै न कतै चुकेँ कि भन्ने यथार्थलाई म निकै भारी र साँगुरो मनले स्वीकार गर्छु । सुरुङबाहिर टोलाइरहेका ती आफन्तका अश्रुपूरित आँखाहरू र सुरुङभित्र बिलाएका सासको यो गहिरो आत्मग्लानि अनि पश्चात्तापले मलाई जीवनभर एउटा बिर्सन नसकिने घाउ बनेर पछ्याइरहनेछ ।

भोटेकोशी र त्रिशूलीको यो महाप्रलय नेपालको इतिहासमा एउटा निकै कहालीलाग्दो विपत्ति बनेको छ । यसले हामीलाई भविष्यका लागि एउटा ठुलो, कठोर र चेतनामूलक पाठ सिकाएर गएको छ । तर, अब केवल गनगन र पश्चात्ताप गरेर मात्र पुग्दैन, न त यस्तो संकटको घडीमा एकले अर्कोलाई दोषारोपण गरेर जिम्मेवारीबाट उम्कने छुट नै हामी कसैलाई छ । यो सिंगो राष्ट्र एक भएर सामूहिक रूपमा संकटको समाधान खोज्ने र घाइते मनमा मलम लगाउने समय हो ।त्यसका लागि राज्यले कुनै पनि बहानाबाजी नगरी तत्काल देहायका कदम विनाविलम्ब चाल्न अपरिहार्य छ :

अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधिको तत्काल परिचालन : सुरुङभित्र अझै पनि फसेका हाम्रा दाजुभाइको उद्धारका लागि देशभित्र उपलब्ध साधनस्रोत र प्रविधि पर्याप्त नभएकाले, सरकारले अविलम्ब अन्तर्राष्ट्रिय विशेषज्ञ टोली र अत्याधुनिक रोबोटिक उपकरण झिकाएर उद्धार कार्यलाई अन्तिम क्षणसम्म पहिलो प्राथमिकता दिनुपर्छ ।

शव व्यवस्थापनको विशेष र स्पष्ट निर्णय : सम्भावित महामारीको खतरालाई रोक्न र मृतकप्रतिको मानवीय एवं धार्मिक संवेदनालाई उच्च प्राथमिकतामा राखी राज्यले तत्काल शव व्यवस्थापनका लागि स्पष्ट नीति, उपयुक्त विधि र निश्चित स्थल तोक्ने साहसिक निर्णय लिनुपर्छ ।

टुहुरा, असहाय र विस्थापितको संरक्षण तथा पुनरोत्थान : घरबारविहीन भएका एक हजारभन्दा बढी पीडित परिवारका लागि सुरक्षित स्थानमा दीर्घकालीन एकीकृत बस्ती विकास गरिनुपर्छ । साथै, बाढीका कारण आमाबुबा गुमाएका अनाथ बालबालिकाको निःशुल्क शिक्षा, लालनपालन र पूर्ण संरक्षणको जिम्मेवारी राज्यले लिनुपर्छ । सहाराविहीन बनेका असहाय र वृद्धवृद्धाका लागि विशेष भत्ता, सामाजिक सुरक्षा र दीर्घकालीन आवासको ग्यारेन्टी गरिनुपर्छ ।

जलवायु जोखिम र पूर्वसूचना प्रणालीको पुनरावलोकन : हिमाली क्षेत्रका जोखिमयुक्त हिमतालको भू–उपग्रहमार्फत नियमित अनुगमन, तल्लो तटीय क्षेत्रमा अत्याधुनिक पूर्वसूचना प्रणालीको वैज्ञानिक जडान र भविष्यमा हुने यस्ता जलवायुजन्य प्रकोपको क्षति न्यूनीकरणका लागि राष्ट्रिय नीतिमै आमूल परिवर्तन गर्नुपर्छ ।

रसुवागढी नाका र पर्यटकीय पूर्वाधारको द्रुत पुनर्निर्माण : चीनसँगको व्यापारिक नाकालाई तत्काल सञ्चालनमा ल्याउन मितेरी पुल र पहुँच मार्गको द्रुत पुनर्निर्माण गरिनुपर्छ । साथै, ओझेलमा परेको लाङटाङ र गोसाइँकुण्ड क्षेत्रको पर्यटनलाई पुनर्जीवन दिन विशेष राहत र प्रवर्द्धनात्मक योजना ल्याइनुपर्छ ।

रसुवाका ती क्षतविक्षत् भत्किएका बस्ती, त्रिशूलीको बहुलाएको धमिलो पानी र अँध्यारो सुरुङको द्वारतिर आशावादी आँखा बिछ्याएर बसिरहेका आफन्तको अनुहार मेरो स्मृतिमा सदाका लागि कोरिएको छ । यो विपत्ति केवल रसुवा, नुवाकोट, धादिङ वा चितवनको मात्र होइन, सिंगो देशकै साझा परीक्षा हो, जसमा हाम्रा सीमा, तयारी र कमजोरी नांगो रूपमा उदांगो भए । प्रकृतिसँगको यो अकल्पनीय द्वन्द्वमा मानवीय क्षतिका अलावा हाम्रा भौतिक संरचना, राष्ट्रिय अर्थतन्त्र र मौलिक सभ्यतामा परेको क्षति पूर्ण रूपमा अपूरणीय छ । यो महाविपत्तिमा ज्यान गुमाउनुहुने सम्पूर्ण निर्दोष आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, बाँचेकाहरूलाई न्याय, राहत र पुनरोत्थान दिलाउनु नै अबको हाम्रो दायित्व र साँचो प्रायश्चित हुनेछ ।

इतिहास साक्षी छ, मानव समाजले समय–समयमा यस्ता ठुल्ठुला महाविपत्ति व्यहोर्दै आएको छ । प्रकृति र मानवबिचको यो जीवन–संघर्षमा विनाशको जगमै नयाँ निर्माणको बिउ लुकेको हुन्छ । त्यसैले, अहिलेको यो असह्य पीडालाई हामीले साझा शक्ति र संकल्पमा बदल्नैपर्छ । कोही पनि निराश हुनुपर्ने कारण छैन, रसुवा फेरि उठ्नेछ ! लाङटाङको काखमा अवस्थित यो पौरखीको भूमि फेरि मुस्कुराउनेछ । भत्किएका सडक र पुल पुनः जोडिनेछन्, ध्वस्त भएका जलविद्युत्का सुरुङबाट फेरि उज्यालोका किरण फुट्नेछन्, अनि बगर बनेका हाम्रा बस्तीमा फेरि नयाँ जीवन र आशाको सांगीतिक लय गुञ्जनेछ । यो महाप्रलयले हाम्रा भौतिक संरचना र प्रियजन खोसेको अवश्य छ, तर रसुवालीको आँट, आत्मसम्मान र मनोबललाई यसले कहिल्यै ढाल्न सक्नेछैन ।

सुरुङको त्यो अँध्यारो चिर्दै, आँसु पुछ्दै र आफैँभित्रको आत्मग्लानिलाई प्रायश्चितको कर्ममा रूपान्तरण गर्दै हामी रसुवालाई अझ सुरक्षित, बलियो र जीवन्त बनाएर उठाउनेछौँ । रसुवा पुनः ब्युँझनेछ, रसुवा फेरि हाँस्नेछ !

(गोतामे रसुवाका प्रदेश सभा सदस्य हुन्)

See More On

सुझावित समाचार