खोटाङको प्रसिद्ध मन्दिर हलेसी महादेव मन्दिरमा पूजा गर्ने क्रममा एक दलितमाथि पुजारीले जातीय विभेद गरेका छन् । १८ साउनमा मन्दिरमा पूजा गर्न पुगेका हलेसी तुवाचुङ नगरपालिका– ७ का २९ वर्षीय युवराज शंकर विकमाथि मन्दिरका पुजारी ५५ वर्षीय गोपाल गिरीले जातीय विभेद गर्दै पूजा गर्न नै रोक लगाएका हुन् ।
पुजारी गिरीले जातीय रूपमा होच्याउँदै आफूमाथि हातपातसमेत गरेको युवराजको आरोप छ । दुवैजना एउटै ठाउँका स्थानीय हुन् ।
‘१८ साउनमा दिदी–भिजाजुसहित पूजा गर्न मन्दिर गएको थिएँ । पुजारीले तराईवासी भक्तजनलाई पनि हप्की–दप्की गरिरहेका थिए । एउटै गाउँको भएकाले मलाई चिन्नुहुन्छ । लाइनमा बस्दै जाँदा जातीय रूपमा होच्याउँदै तँ उता जा भनेर हातपात गर्नुभयो,’ युवराजले भने, ‘मलाई मात्रै होइन, हाम्रो समुदायका मान्छेलाई मन्दिरमा जाँदा यसरी नै जातीय रूपमा होच्याउँदै गालीगलौज गर्नुहुन्छ । अरूले सहन्छन् । मैले विभेदविरुद्ध बोलेँ ।’
मन्दिरमा पूजा गर्दा जातीय विभेद गरेपछि युवराजले हलेसी तुवाचुङ नगरपालिका– ७ का वडाध्यक्ष कमल गिरीसहित प्रहरी तथा मन्दिर व्यवस्थापन समितिलाई जानकारी गराएको बताए । तर, वडाध्यक्ष गिरी, इलाका प्रहरी कार्यालय हलेसीका प्रमुख, प्रहरी निरीक्षक आकाश उप्रेतीसहितले उल्टै आफूलाई नै सम्झाइबुझाई गरेको उनको आरोप छ । ‘समितिको मान्छे, प्रहरी र वडाध्यक्षलाई भन्दा उहाँहरूले उल्टै तपाईंको गल्ती छ, पुजारीलाई आरोप लगाउन मिल्दैन भनेर पठाउनुभयो,’ उनले भने, ‘प्रहरी इन्स्पेक्टरलाई भन्दा मलाई नै नचाहिने कुरा नगर्नु, प्रमाण के छ ? पुजारीलाई आरोप लगाउँछस् भनेर विश्वास नै गरेनन् ।’
त्यसपछि युवराजले न्याय पाउने आशामा पछिल्लो समय दलितको मुद्दा उठाउँदै आएका प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारलाई सम्पर्क गरे । खगेन्द्रले प्रहरीमा उजुरी दर्ता गर्न सुझाव दिए । ‘खगेन्द्र माननीयले मुद्दा दर्ता गर्नु न भनेपछि मैले प्रहरीले मान्दैन भनेँ । उहाँले को छ फोन दिनु त भन्दा इन्स्पेक्टर साबले बोल्न नै मान्नुभएन,’ युवराजले भने, ‘दलितमाथि विभेद हुँदा कतैबाट सहयोग भएन । हामीमाथि हेपाइ भयो । हामी मन्दिर जानै नहुने त होइन होला ? म न्यायको पर्खाइमा छु ।’
त्यति मात्र होइन, पुजारीका छोरा एलिश गिरीले समेत म्यासेजमार्फत ज्यान मार्नेसम्मको धम्की दिइरहेको उनको दाबी छ । ‘पुजारीका छोरा एलिशले सोच सानो भएर दलित भएको, औकतामा बस् । तँलाई भेटेँ भने मार्छु भनेर धम्की दिए,’ युवराज भन्छन्, ‘म त काम गर्न जानुपर्छ, परिवारमा केही भयो भने यसको जिम्मा कसले लिन्छ ?’
साइनोमा पुजारी गोपाल वडाध्यक्ष कमलका भिनाजु हुन् । त्यसकारण पनि आफूले न्याय पाउन नसकेको युवराजको बुझाइ छ । ‘न्याय खोज्दा उल्टै मलाई सम्झाउन खोजियो । प्रमाण मागियो,’ उनी भन्छन्, ‘उनीहरूको मिलेमतो छ । मिलाउने गरी लाग्दा प्रहरीले पनि हेरेन ।’
प्रहरीले आफ्नो कुरा नसुनेपछि युवराजले काठमाडौं पुगेर राष्ट्रिय दलित आयोगमा उजुरी दर्ता गराएका छन् । उनले बिहीबार आयोगका अध्यक्ष देवराज विश्वकर्मालाई भेटेर उजुरी दिएका हुन् । ‘म यसकै लागि काठमाडौं गएको थिएँ । अन्याय सहेर बस्नुहुँदैन भनेर म काठमाडौंसम्म पुगेँ,’ उनले भने, ‘मैले न्याय पाउनुपर्छ । म न्यायको पर्खाइमा छु । देशमा परिवर्तन आयो । अहिले नयाँ सरकार आएको छ । तर, दलितले कहिलेसम्म विभेद सहने ?’
राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले युवराजको उजुरी आएको बताए । उनले यो उजुरी अहिले छानबिनको प्रक्रियामा रहेको बताए । ‘हामी बुझ्दै छौँ । विभेद भएको रहेछ भने कारबाहीका लागि लेखेर पठाउँछौँ,’ उनले भने, ‘प्रहरीले निवेदन नलिएको भन्ने छ । निवेदन नलिएपछि हामीकहाँ आएको बुझेका छौँ । विगतमा प्रहरीले निवेदन नलिएका घटना धेरै छन् । पहिलाको तुलनामा लिन थालेका छन् । तर, सुध्रिसकेको अवस्था होइन । केही घटनामा नलिने अवस्था छ । त्यसपछि पीडितले आयोगमा उजुरी दिने गरेका छन् ।’
हलेसी तुवाचुङ नगरपालिका– ७ का वडाध्यक्ष कमल गिरीले युवराजमाथि भएको घटनाबारे छलफल भएको स्वीकार गरे । तर, भिडभाडमा भनाभन मात्र भएको उनको भनाइ छ । प्रहरीसहित बसेर छलफल टुंग्याएको उनको दाबी छ । ‘पुजारीले भनेकै होइन भनेपछि छलफल टुंगिएको हो,’ उनले भने, ‘भिडभाडमा भनाभन मात्रै भएको भन्ने आएको छ । प्रहरीसहित बसेर मिलाएको हो ।’ उनले गोपाल साइनोमा भिनाजु भए पनि उनको पक्षमा नलागेको दाबी गरे । ‘उहाँ (पुजारी) भिजानु होला, युवराज पनि भाइ हो,’ उनले भने, ‘वडावासी सबै मेरा आफ्ना हुन् । सबै बराबर हुन्छन् ।’
हलेसी मन्दिर व्यवस्थापन समिति अध्यक्ष गजुरमान राईले भने युवराजले निहुँ मात्रै खोजेको आरोप लगाए । युवराजले अरू कसैको उक्साहटमा लागेर आरोप लगाएको उनको भनाइ छ ।
इलाका प्रहरी कार्यालय हलेसीका प्रमुख प्रहरी निरीक्षक आकाश उप्रेती पनि घटनाबारे जानकार छन् । तर, जातीय विभेद भएकोबारे आफूलाई जानकारी नआएको प्रहरी निरीक्षक उप्रेतीको दाबी छ । ‘यो साउन १८ गतेको कुरा हो । हामीलाई भन्दा जातीय कुरा सुनाएका थिएनन् । स्थानीय भएकाले लाइन मिचेर जाँदा गालीगलौज भयो भन्ने थियो,’ उनले भने, ‘हामी त्यस दिन मेलाको सुरक्षा व्यवस्थापनमा व्यस्त भएकाले मन्दिर व्यवस्थापन समितिलाई गुनासो सुन्न लगायौँ । त्यसपछि उहाँ (युवराज)ले मलाई भेट्नुभएको छैन । कहाँबाट एक्कासि पुग्न भयो (दलित आयोग) जानकारी छैन ।’
पुजारी गिरीले भने आफूले जातीय विभेद नगरेको दाबी गरे । ‘सोमबारको दिन थियो । जल चढाउन २५ हजार थिए । आफ्नै हातले चढाउने भन्ने भयो । मैले लाइनलाई अगाडि बढ्नुस् भनेँ । युवराज लाइन मिच्दै आए । मैले त चिनेको पनि थिइनँ । स्थानीय हुँ भने । मैले स्थानीय कुरा होइन, लाइन छ भनेँ । मैले अगाडि बढ, जबर्जस्ती गर्छौ भनेँ,’ उनले भने, ‘पछि प्रहरी बिटमा गएछन् । अभद्र व्यवहार गर्यो भनेछन् । समितिले बोलायो । कस्तो व्यवहार गरेँ भनेँ । यो सामान्य विवाद हो । मैले कसैलाई जातीय विभेद गरेको छैन । मैले मन्दिरमा विभेद गरेर हुन्छ ? मन्दिरको कोषाध्यक्ष पनि दलित हुनुहुन्छ । मन्दिरमा झाडु लगाउने पनि दलित छन् ।’