ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेले तराईबाट प्रतिसिलिन्डर १८० रुपैयाँ लागतमा काठमाडौंसम्म ग्यास ढुवानी भएकाले उपभोक्ता मूल्य वृद्धि भएको प्रस्टीकरण दिएका छन्।
आर्थिक पत्रकार समाजले रसुवा बाढीपछिको आपूर्ति तथा मूल्य शृंखलामा परेको प्रभाव र देखिएको चुनौती विषयमा आयोजना गरेको कार्यक्रममा घिमिरेले पृथ्वी राजमार्गबाट ग्यास बुलेट आउन नसक्दा तराईका उद्योगमा सिलिन्डर भरेर त्रिभुवन राजपथको कठिन बाटोबाट ढुवानी गर्नुपर्ने बाध्यता रहेको बताए।
‘बुलेट काठमाडौं वा धादिङका उद्योगसम्म ल्याएर साना गाडीमा ग्यास सिलिन्डर राखी डिलरसम्म पुर्याउनुको सट्टा तराईबाट ग्यास भरिएको सिलिन्डर ल्याउनुपर्दा ढुवानी भाडामा ठुलो अन्तरले वृद्धि भएको छ,’ उनले भने, ‘त्यसैले, उपभोक्ता मूल्यमा केही चाप परेको हो।’
उद्योगीले शुक्रबारबाट लागू हुने गरी ग्यासको मूल्य प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा वृद्धि गरेका छन्। जसकारण काठमाडौं उपत्यकामा उपलब्ध हुने ग्यासको मूल्य प्रतिसिलिन्डर दुई हजार १६५ रुपैयाँ ३८ पैसा पुगेको छ।
कार्यक्रममा उनले विपतका वेला उपभोक्तालाई दुःख दिन नखोजिएको, बरु ढुवानी लागतको पूरै भार उपभोक्ता मूल्यमा नजोडिएको दाबी गरे। ‘ढुवानी लागत १८० रुपैयाँ प्रतिसिलिन्डर पुगेको छ। उपभोक्ता मूल्यमा भने १०५ रुपैयाँ ३८ पैसा मात्र जोडिएको छ,’ उनले भने, ‘त्यसैले यसलाई विपतका समयमा ग्यास उद्योगका तर्फबाट सहुलियत प्रदान गरेको अर्थमा बुझ्नुपर्छ।’
तराईका विभिन्न उद्योगमा अन्य ब्रान्डका सिलिन्डरमा निःशुल्क ग्यास भरेकोसमेत उनले जानकारी दिए। ‘तराईका उद्योगमा ग्यास भर्दाको लागत निःशुल्क गरिएको छ। कुनै पनि उद्योगले अर्को ब्रान्डको सिलिन्डरमा ग्यास भर्दा पैसा नलिने समझदारी भएको छ,’ उनले भने। रसुवा बाढीपीडितलाई १२ सय सिलिन्डर निःशुल्क वितरण गर्ने निर्णय गरेको जानकारी दिँदै उनले उद्योगी विपत परेकाप्रति जिम्मेवार रहेको सन्देश दिए।
‘पृथ्वी राजमार्ग अवरुद्ध भएपछि तराईका उद्योगमा रिफिल गर्नुको विकल्प भएन। त्यसपछि उद्योगलाई तीन सिफ्ट चलाएर पनि आपूर्ति गरौँ भनेर लागेका छौँ,’ उनले भने, ‘साना गाडीमा ७०–८० सिलिन्डर हालेर डिलरकहाँ ग्यास पुर्याउने गरेका थियौँ। तर, अहिले तराईको टाढा दूरीबाट ग्यास ढुवानी गरेर ल्याउनुपर्ने स्थिति आयो।’
उनले बारा, पर्सा, चितवन, नवलपरासीलगायतका उद्योगबाट ७०–८० सिलिन्डर ग्यास ओसार्न सम्भव नभएको बताए । ‘सरकारको कुनै ट्रक छ भने हामीले तेल खर्चलगायत दिएर ग्यास ल्याउनेबारे छलफल पनि गर्याैँ। खाद्य संस्थानको एउटा मात्र ट्रक भेटियो, तर बिग्रिएको अवस्थामा रहेको भनेपछि सरकारी सवारीसाधनबाट ल्याउन सम्भव देखिएन,’ उनले भने, ‘त्यसपछि नारायणी यातायात व्यवसायी संघ, तराई ट्रक संघलगायतसँग हेटौँडामा छलफल गर्याैँ र १८० रुपैयाँ प्रतिसिलिन्डरका दरले ढुवानी लागत तय भयो।’
राज्यका कुनै पनि निकायले ट्रक उपलब्ध गराउने हो भने अझै पनि ढुवानी लागत कट्टा गरेर ग्यास बिक्री गर्न सकिने अवस्था रहेको उनले बताए।
काठमाडौंका ग्यास उद्योगले पिडिओ लिएभन्दा तराईका उद्योगमा ग्यास ल्याउँदा पिडिओ लागत प्रतिसिलिन्डर २० रुपैयाँ बढेको पनि उनले जानकारी दिए। उनले ग्यासको अभाव नभएको, तर तराईबाट ल्याउन गाह्रो भइरहेको जानकारी दिए।
‘पहाडको कठिन बाटोबाट ढुवानी भइरहेको कुरालाई अन्यथा नलिई आपूर्ति सहजताका लागि गरिएको पहलका रूपमा बुझ्नुपर्छ,’ उनले भने, ‘दैनिक एक सय ट्रकले तराईबाट ग्यास ओसार्ने र काठमाडौंबाट पनि सय ट्रकले खाली सिलिन्डर लिएर जाने गरी संस्थागत सम्झौता गरेका छौँ। यसबाट आपूर्ति सहज हुने अपेक्षा छ।’