बाढीमा बेपत्ता मोरङका मामा–भान्जाको कुशको शव बनाएर अन्त्येष्टि

शुक्रबार, १९ भदौ, २०८३
डिजिटल संस्करण

रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी बेपत्ता भएका मोरङको बेलबारी नगरपालिका– ९ का २६ वर्षीय अनुज धमलाको शव नभेटिएपछि परिवारले दसाैँ दिनमा शुक्रबार कुशको शव बनाएर अन्त्येष्टि गरेका छन्।

चीनको मानसरोवर र कैलाश पर्वत क्षेत्रबाट पर्यटक लिएर फर्कने क्रममा बाढीले बेपत्ता भएका अनुजको शव फेला नपरेपछि आफन्तले कुशको शव बनाएर अन्तेष्टि गरेका हुन्। १० दिनसम्म खोजी गर्दा पनि शव फेला नपरेपछि परिवारले हिन्दु धार्मिक परम्पराअनुसार कुशको प्रतीकात्मक शव बनाएर बेलबारीको लक्ष्मीमार्गस्थित घाटमा दाहसंस्कार गरे।

१० भदौको बिहान एक्कासि आएको बाढीले अनुजसहित पर्यटक सवार गाडी बगाएको थियो। बुबा राजेन्द्र धमलाका अनुसार अनुज बेपत्ता भएको खबरले आमाको स्वास्थ्यमा थप असर नपरोस् भनेर परिवारले केही समय घटना लुकाएको थियो। उनलाई चीनतर्फ काममा व्यस्त रहेको भन्दै आमालाई सम्झाउने गरिएको थियो। तर, गाउँमा हल्ला फैलिन थालेपछि परिवारले सत्य लुकाउन सकेन। 

आफन्तका अनुसार सामान्य आर्थिक अवस्था भएको परिवारका अनुज रोजगारीका लागि कोरिया जान असफल भएपछि मामा सोमनाथ कट्टेलको काठमाडौंस्थित सम्राट टुर एन्ड ट्राभल्समा गाइडको काम गर्न थालेका थिए। उनले क्यान्सरपीडित आमाको उपचारमा सहयोग पुर्याउने सपना लिएर  जोखिमपूर्ण मानिने मानसरोवर रुटमा गाइडको काम थालेका थिए।

बुबा राजेन्द्र सानो किराना पसल सञ्चालन गर्छन् भने दाजु अनिशप्रसाद निजी विद्यालयमा पढाउँछन्। उनकी आमा लामो समयदेखि क्यान्सर रोगको बिरामी छिन्। अनुजसँगै बेपत्ता भएका उनका मामा विराटनगर– ७ का सोमनाथ कट्टेलको पनि शव नभेटिएपछि तीन दिनअघि विराटनगरमा कुशको शव बनाएर अन्त्येष्टि गरिएको थियो।

सुझावित समाचार