१६ ग्राम २२० मिलिग्राम ब्राउनसुगरसहित दुईजना पक्राउ

शुक्रबार, १९ भदौ, २०८३
डिजिटल संस्करण

सुनसरीको रामधुनी नगरपालिका– ५ स्थित चाम्लिङ होटेल एन्ड लजबाट १६ ग्राम २२० मिलिग्राम ब्राउन सुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

शुक्रबार बिहान करिब ११ बजे होटेलमा लागुऔषध ब्राउनसुगर बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको संयुक्त प्रहरी टोलीले होटेलमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा होटेल सञ्चालक रामधुनी नगरपालिका– ५ की ४९ वर्षीया मनिता राईले लुकाएर राखेको अवस्थामा १६ ग्राम २२० मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा हरिनगर गाउँपालिका– ७ का ५२ वर्षीय मोजामिल अन्सारी र होटेल सञ्चालक राईलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका दुवैजनामाथि लागुऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनामा थप व्यक्तिको संलग्नता तथा लागुऔषधको स्रोतबारे समेत अनुसन्धान भइरहेको छ।

सुझावित समाचार