कृष्णभिरमा नयाँ ट्र्याक खोल्न सुरु

शुक्रबार, १९ भदौ, २०८३
डिजिटल संस्करण

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा सडक सञ्चालनका लागि नयाँ ट्र्याक खोल्ने काम सुरु भएको छ। सडक भासिएर यातायात अवरुद्ध भएपछि दुई दिनसम्म रुख, बाँस र झाडी हटाउने तथा ग्याबिन संरचना भत्काउने काम सम्पन्न गरी शुक्रबारदेखि ट्र्याक खोल्न थालिएको हो।

निर्माण कम्पनी शर्मा जेभीका साइड प्रबन्धक इन्जिनियर ईश्वर नेपालका अनुसार दुवैतर्फबाट एक्स्काभेटर प्रयोग गरी ट्र्याक निर्माण सुरु गरिएको छ। माथिल्लो भागमा मजदुरले ग्याबिन भत्काउने र क्षेत्र सफा गर्ने काम गरिरहेका छन्।

सडकको छेउबाट करिब सात मिटर पर नयाँ ट्र्याक खोल्न लागिएको नेपालले बताए। उनका अनुसार ट्र्याक निर्माणको काम एक सातादेखि १० दिनभित्र सम्पन्न गर्ने लक्ष्य छ।

नौबिसे–मुग्लिन सडक आयोजनाको पश्चिम खण्डका इन्जिनियर सचेन्द्र मिश्रका अनुसार सडकभन्दा करिब नौ मिटर अग्लो पहिलो डाँडा काटेर नयाँ सडक निर्माण गर्न लागिएको हो। करिब ३५० मिटर लामो र सात मिटर चौडा ट्र्याक निर्माण गरिनेछ।

सुझावित समाचार