भोटेकोशी बाढीपछि संवेदनशील रिपोर्टिङ गर्न सञ्चारकर्मीलाई सञ्चारमन्त्री तिमिल्सिनाको आग्रह

शुक्रबार, १९ भदौ, २०८३
डिजिटल संस्करण

भोटेकोशी बाढीपछि नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विपत् प्रभावित नागरिकको गोपनीयता, सुरक्षा र मानवीय मर्यादा कायम राख्दै समाचार सम्प्रेषण गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सञ्चारकर्मीहरूलाई आग्रह गरेका छन्।

मन्त्री तिमिल्सिनाले सुत्केरी, बालबालिका, परिवारका सदस्य गुमाएका तथा अन्य संवेदनशील अवस्थामा रहेका नागरिकहरू होल्डिङ सेन्टरमा आश्रय लिइरहेको भन्दै उनीहरूको संवेदनशीलतालाई ध्यानमा राखेर रिपोर्टिङ गर्न आग्रह गरेका हुन्।

उनले सम्बन्धित निकायसँग समन्वय नगरी होल्डिङ सेन्टरमा प्रवेश नगर्न तथा बालबालिका र अन्य संवेदनशील व्यक्तिको पहिचान खुल्ने तस्बिर वा विवरण उनीहरूको सहमतिविना नलिन र सार्वजनिक नगर्न सञ्चारकर्मीलाई आग्रह गरेका छन्।

उद्धार तथा राहत व्यवस्थामा अवरोध नपुग्ने गरी पत्रकारिता गर्नुपर्नेमा जोड दिँदै मन्त्री तिमिल्सिनाले विपतकाे वास्तविकता सार्वजनिक गर्नु सञ्चारमाध्यमको महत्त्वपूर्ण दायित्व भए पनि पीडितको गोपनीयता, सुरक्षा, मर्यादा र मानसिक संवेदनशीलताको सम्मान गर्नु अझ महत्त्वपूर्ण जिम्मेवारी भएको बताएका छन्।

‘विपतमा पीडितको दुःख समाचारको विषय हो, तर सनसनीको सामग्री होइन,’ मन्त्री तिमिल्सिनाले भनेका छन्। उनले तथ्य र सत्यको खोजी गर्दै रिपोर्टिङ गर्दा मानवीय मर्यादा, गोपनीयता र सुरक्षाको मूल्यलाई समेत उत्तिकै महत्त्व दिन सञ्चारकर्मीहरूलाई आग्रह गरेका छन्।

सुझावित समाचार