गाेकर्णेश्वर नगरपालिका– ६, जाेरपाटी बाहुनधारामा रहेकाे बुद्ध एकेडेमी आवासीय विद्यालयले भाेटेकाेशी बाढीमा अभिभावक गुमाएका कम्तीमा २५ बालबालिकाकाे जिम्मेवारी लिने घाेषणा गरेकाे छ ।
विद्यालय परिवारकाे बैठकले २५ बालबालिकालाई नि:शुल्क शिक्षासहित आवासीय सुविधा दिने घाेषणा गरेकाे हाे । प्रधानाध्यापक साेनी बरालले एक प्रतिबद्धतापत्र जाहेर गरेर साे निर्णय गरेकाे जनाएकी छिन् । अनाथ, असहाय र विपन्न परिवारका बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्दै आएको साे विद्यालयले १० भदौको भाेटेकाेशी बाढीबाट पीडित विपन्न बालबालिकालाई संरक्षण दिने निर्णय लिएको हाे ।
विद्यालय सञ्चालक समितिका महानिर्देशक जिमी लामाले त्यस्ता बालबालिकालाई कक्षा एकदेखि एसइईसम्मकाे शिक्षा र अरू आवासीय सम्पूर्ण जिम्मेवारी बहन गर्ने विषयमा विद्यालय परिवारले निर्णय गरेकाे बताए । ‘हामीले २५ जना भनेका छाैँ। तर, सरकारले बढी जिम्मेवार दिए त्यसकाे जिम्मेवारी लिन पनि तयार छाैँ,’ लामाले भने।
बाढीपछि आमाबुबा गुमाएका बालबालिकालाई विद्यालय परिवार स्वयं अभिभावक बनेर शिक्षा दिने र आवासीय सुविधा निःशुल्क उपलब्ध गराउने उनले बताए । बालबालिकालाई विद्यालय ल्याउन सरकारी निकायसँग समन्वय भइरहेकाे उनले बताए ।