भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले नुवाकोटका स्थानीय जनप्रतिनिधिसँग छलफल गरेकी छिन् । उनले बिहीबार विदुर र बेलकोटगढी नगरपालिकाका बाढी प्रभावितको अस्थायी र स्थायी पुनर्स्थापनाका विषयमा सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतसँग छलफल गरेकी हुन् ।
मन्त्री रावलले विदुर नगरपालिकाका प्रमुख तथा उपप्रमुख, वडाध्यक्षहरू, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखलगायत सरोकारवालासँग बाढीबाट प्रभावित नागरिकको अवस्था, होल्डिङ सेन्टरमा रहेका नागरिकहरूको व्यवस्थापन, अस्थायी तथा स्थायी पुनर्स्थापना र भूमिहीनहरूको दीर्घकालीन व्यवस्थापनलगायत विषयमा छलफल गरेको उनको सचिवालयले जनाएको छ ।
उनले बाढी प्रभावित परिवारको दीर्घकालीन व्यवस्थापन तथा पुनर्स्थापनाका लागि संघीय सरकारका तर्फबाट आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।