चौथो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि सिराहाको सलहेस युवा क्लब र पाँचथरको फिदिम स्पोर्टिङ क्लबबिच शुक्रबार भिडन्त हुने भएको छ । भानुजन माध्यमिक विद्यालयको मैदानमा हुने फाइनलमा दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । फाइनलअघि बिहीबार भएको प्रिपोस्ट म्याचमा प्रशिक्षक र कप्तानहरूले उपाधि उचाल्न तयार भएको बताएका हुन् । सलहेस प्रतियोगिताको साबिक विजेता हो । सलहेसका मुख्य प्रशिक्षक राजीवकुमार यादवले उपाधि रक्षा गर्ने बताए ।
‘फिदिमविरुद्ध आफ्नो टोलीले नतिजा आफ्नो पक्षमा पार्ने योजनाका साथ खेल्छ,’ यादवले भने । सलहेसले क्वार्टरफाइनलमा सातदोबाटो फुटबल क्लबलाई टाइब्रेकरमा हराएको थियो । सेमिफाइनलमा भारतको कालिम्पोङस्थित जर्जियन युनाइटेड फुटबल क्लबलाई २–० ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । फिदिम स्पोर्टिङ क्लब पहिलोपटक फाइनलमा पुगेको हो । यसअघिका संस्करणमा सेमिफाइनलभन्दा अघि बढ्न नसकेको फिदिमले उपाधि जितेर इतिहास बनाउने लक्ष्य राखेको छ ।
फिदिमका मुख्य प्रशिक्षक उपेन्द्र श्रेष्ठले सलहेसलाई हराएर उपाधि जित्ने दाबी गरे । फिदिमले क्वार्टरफाइनलमा चित्लाङ फुटबल क्लबलाई टाइब्रेकरमा हराएको थियो । उसले सेमिफाइनलमा बलियो झापा ११ लाई १–० ले पराजित गरेको थियो । आयुष घलान, देवेन्द्र तामाङ, सुमित श्रेष्ठ र आरोन थापाजस्ता खेलाडी रहेको झापा ११ लाई हराएर फाइनल पुगेकाले फिदिमका खेलाडीको मनोबल उच्च छ ।
प्रशिक्षक श्रेष्ठले क्वार्टरफाइनल र सेमिफाइनलमा जित दिलाउने टोलीलाई नै फाइनलमा उतार्ने तयारी रहेको बताए । फिदिमका कप्तान अनुकेश शेर्माले पहिलोपटक फाइनल पुगेको टोली उपाधि जित्न उत्साहित रहेको बताए । प्रतियोगिताको विजेताले सात लाख दुई हजार ८३ र उपविजेताले तीन लाख ५२ हजार ८३ रुपैयाँ पाउनेछन् । लाखेजात्रा पर्वका अवसरमा आयोजित प्रतियोगितामा आठ टोली सहभागी छन् ।