बिहीबार १० बजेसम्मका प्रमुख १० खबर

बिहिबार, १८ भदौ, २०८३
डिजिटल संस्करण

विपतको मौका छोपेर उद्योगीले बढाए ग्यासको भाउ, अब प्रतिसिलिन्डर २ हजार १६५ रुपैयाँ

ग्यास उद्योगीले तराईबाट काठमाडौंसम्म ढुवानी गरेको लागत बढेको भन्दै विपतको समयमा ग्यासको मूल्य प्रतिसिलिन्डर १०५ रुपैयाँ १८ पैसा बढाएका छन्। मूल्य वृद्धिपछि प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ रहेको ग्यासको भाउ शुक्रबारदेखि २ हजार १६५ रुपैयाँ ३८ पैसा पुगेको छ।

हालसम्म आयल निगमले मात्रै ग्यासको भाउ निर्धारण गर्दै आएकोमा उद्योगीले बिहीबार दिउँसो भेला डाकेर ढुवानी खर्च जोडी ग्यासको भाउ एकतर्फी निर्धारण गरेका हुन्।

भोटेकोशी बाढीबारे विश्व समुदायसँग जवाफ खोज्नुपर्छ : प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीलाई जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा बढ्दै गएको जोखिमको गम्भीर संकेतका रूपमा व्याख्या गर्दै नेपालले यस विषयमा विश्व समुदायसँग जवाफ खोज्नुपर्ने बताएका छन्।बिहीबार राति सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले विपद् व्यवस्थापन चुनौतीपूर्ण भए पनि उपलब्ध स्रोत–साधनको प्रयोग गर्दै सरकार अहोरात्र उद्धार, राहत तथा पुनःस्थापनामा खटिरहेको बताए। उनका अनुसार प्रभावित क्षेत्रमा खोज, उद्धार र उपचारको काम निरन्तर भइरहेको छ भने सम्पर्कविहीन नागरिकको खोजी पनि जारी छ।

भदौ २२ गते सार्वजनिक बिदा छ कि छैन ?

सामाजिक सञ्जालहरुमा शुक्रबारदेखि लगातार पाँच दिन सार्वजनिक बिदा भनेर प्रचार भइरहेको छ । तर, गृह मन्त्रालयले भने सोमबार बिदा नरहेको प्रष्ट पारेको छ । 

भोटेकोशी बाढीको १३ औं दिन अर्थात् भदौ २२ मा सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । बाढीमा मृत्यु हुनेहरुको सम्मानस्वरुप कार्यालयहरुमा राष्ट्रिय झन्डा आधा झुकाएर राष्ट्रिय शोक मनाउने निर्णय बिहीबारको मन्त्रिपरिषद्ले गरेको हो । ‘सो दिन राष्ट्रिय शोक मनाउने निर्णय भएको हो तर सार्वजनिक बिदा छैन,’ गृह मन्त्रालयकी सूचना अधिकारी रमा आचार्यले बताइन्। 

सम्पत्ति शुद्धीकरणमा व्यवसायी अमित मोर जेल चलान, तीनजना धरौटीमा रिहा

सम्पत्ति शुद्धीकरणको मुद्दामा व्यवसायी अमित मोर जेल चलान भएका छन्। बिशेष अदालतले बिहीबार उनको कसुरका आधारमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । मोर हिमालयन रिइन्स्योरेन्सका पूर्वसञ्चालक हुन्। 

उनलाई थुनामा पठाउने आदेशमा न्यायाधीश हेमन्त रावलले भने फरक राय राखेका छन्। उनले एक करोड धरौटीमा छाड्नुपर्ने राय राखेका छन्। तर, न्यायाधीशहरु नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठले बहुमतका आधारमा उनलाई थुनामा पठाउने आदेश दिएका हुन्। न्यायाधीश रावलले भने यसअघि बिशेषले थुनामा पठाएका व्यवसायी रोहित गुप्तालाई सर्वाेच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको लगायत आधार दिएर धरौटीमा छाड्नुपर्ने राय दिएका हुन्। 

बाढी प्रभावित क्षेत्रमा अनधिकृत ड्रोन उडाउन रोक

गृह मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा साना तथा अनधिकृत ड्रोन नउडाउन सर्वसाधारण तथा सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।

मन्त्रालयले प्रभावित क्षेत्रमा जारी खोज, उद्धार तथा राहत वितरणका कार्यमा ड्रोनका कारण अवरोध तथा सुरक्षा चुनौती सिर्जना हुन सक्ने भन्दै अनधिकृत ड्रोन उडानमा रोक लगाएको हो।

बाढीपछि केरुङमा फसेका ११४ जना नेपाली तातोपानी नाकाबाट फर्किए

भोटेकोशीको बाढीपछि चीनको केरुङ क्षेत्रमा अलपत्र परेका नेपालीहरू नौ दिनपछि स्वदेश फर्किएका छन्। चीन सरकारको सहयोगमा उनीहरूलाई सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै स्वदेश ल्याइएको हो। 

बिहीबार दिउँसो उनीहरू तातोपानी नाका आइपुगेका थिए। सरकारले बसको व्यवस्था गरेर त्यहाँबाट काठमाडौं ल्याएको छ। 

सशस्त्र प्रहरीले बाढीमा ज्यान गुमाउने कर्मचारीका परिवारलाई २५ लाख उपलब्ध गराउने, उद्धार कोषमा १५ करोड जम्मा गर्ने

सशस्त्र प्रहरी बलले राष्ट्रसेवकहरुको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड ५० लाख रकम योगदान गर्ने निर्णय गरेको छ । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलको अध्यक्षतामा बिहीबार बसेको परामर्श समितिको बैठकले यस्तो निर्णय गरेको छ । 

निर्णयअनुसार सशस्त्र प्रहरी महानिरीक्षक र अतिरिक्त महानिरीक्षकहरूले १५ दिनको, नायव महानिरीक्षक र वरिष्ठ उपरीक्षकले १२ दिनको, उपरीक्षक, नायव उपरीक्षक र निरीक्षकहरुले १० दिनको, जुनियर अधिकृतहरूले ७ दिनको, वरिष्ठ हवलदार देखि जवान सम्मले ५ दिनको र सशस्त्र प्रहरी परिचरले ३ दिनको तलब बराबरको रकम योगदान गर्ने। बि.ओ.पि. टिमुरे र सुरक्षा बेस मैलुङमा कार्यरत रही सोही दिनको बाढीमा परी ज्यान जोगाउन सफल भएका सशस्त्र प्रहरी कर्मचारीहरूको हकमा रकम कट्टा  नहुने भएको छ । 

भोटेकोशी बाढीबाट अभिभावक गुमाएका बालबालिकालाई बागमती सरकारले निःशुल्क आवासीय शिक्षा दिने

रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट अभिभावक गुमाएका बालबालिकाको शिक्षाको जिम्मा बागमती प्रदेश सरकारले लिने भएको छ। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले बाढीका कारण आमाबाबुविहीन बनेका बालबालिकालाई आवासीय सुविधासहित कक्षा १२ सम्म निःशुल्क शिक्षा उपलब्ध गराउने महत्त्वपूर्ण निर्णय गरेको हो।

भोटेकोशी बाढीः सम्पर्कविहीनको संख्या पाँच हजार नाघ्यो

भोटेकोशी नदीमा आएको बाढीमा सम्पर्कविहीन हुनेको संख्या पाँच हजार नाघेको छ। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार हाल सम्पर्कविहीनको संख्या पाँच हजार ८३ छ। 

प्रहरीले १२५९ शव संकलन गरेकामा ९५ जनाको हस्तान्तरण गरेको छ भने अन्यको शवको सनाखत हुन सकेको छैन। 

गुप्तचरमा सरुवा, बढुवा र भर्ना ठप्प

कानुनी अल्झनका कारण राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)मा सरुवा, बढुवा र नयाँ भर्नाजस्ता प्रशासनिक गतिविधि रोकिएका छन् । बालेन शाह सरकारले विभागलाई प्रधानमन्त्री कार्यालयमातहत लगे पनि त्यसअनुसार कानुन संशोधन नगर्दा प्रशासनिक गतिविधि ठप्प भएको हो । 

सरकारले प्रधानमन्त्री कार्यालयमातहत लैजाने निर्णय गरे पनि त्यसअनुसार नेपाल विशेष सेवा ऐन, २०४२ संशोधन गरिसकेको छैन । ३० बैशाख २०८३ मा सरकारले विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्ने निर्णय गरेको थियो । अध्यादेशमार्फत यस्तो निर्णय गरिएको थियो । प्रतिस्पस्थापन बिधेयक पेश नगरी सरकारले गत १५ असारमा नयाँ बिधेयक संसदमा दर्ता गरेको थियो । जून बिधेयक छलफलकै क्रममा छ । विद्यमान ऐनअनुसार बढुवा, सरुवा तथा भर्ना समितिको संयोजक गृहसचिव नै हुने उल्लेख छ । तर, प्रधानमन्त्री कार्यालयमातहत रहेको विभागमा गृहसचिवलाई त्यो अधिकार दिन नहुने भन्दै अधिकार दिइएको छैन । सोही कारण सचिव तहबाट हुनुपर्ने सबै निर्णय रोकिएका छन् । 

सुझावित समाचार