सम्पत्ति शुद्धीकरणको मुद्दामा व्यवसायी अमित मोर जेल चलान भएका छन्। विशेष अदालतले बिहीबार उनको कसुरका आधारमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। मोर हिमालयन रिइन्स्योरेन्सका पूर्वसञ्चालक हुन्।
उनलाई थुनामा पठाउने आदेशमा न्यायाधीश हेमन्त रावलले भने फरक राय राखेका छन्। उनले एक करोड धरौटीमा छाड्नुपर्ने राय राखेका छन्। तर, न्यायाधीशहरू नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठले बहुमतका आधारमा उनलाई थुनामा पठाउने आदेश दिएका हुन्। न्यायाधीश रावलले भने यसअघि विशेषले थुनामा पठाएका व्यवसायी रोहित गुप्तालाई सर्वाेच्च अदालतले धरौटीमा छाड्न आदेश दिएकोलगायत आधार दिएर धरौटीमा छाड्नुपर्ने राय दिएका हुन्।
त्यस्तै, सुमेरशमशेर जबरालाई २५ लाख, राजीव मोरसँग एक करोड र दीपककुमार श्रेष्ठसँग ५० लाख रुपैयाँ धरौटी माग भएको छ। सो मुद्दामा फरार रहेका चारजनालाई सिआइबीले पक्राउ गरी अदालतमा उपस्थित गराएको हो।
बिचौलिया दीपक भट्टको योजनामा उनीहरूले हिमालयन रिइन्स्योरन्स कम्पनीको पैसा दुरुपयोग गरी सेयर बजारमा लगानी गरिएको थियो। जून मुद्दामा भट्ट, सुलभ अग्रवाललगायत कारागारमा छन्।