सुदूरपश्चिमको यातायात क्षेत्र सुधार कार्ययोजना पारित

बिहिबार, १८ भदौ, २०८३
डिजिटल संस्करण

सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश यातायात क्षेत्र सुधार कार्ययोजना पारित गरेको छ। भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले सवारी दुर्घटना न्यूनीकरणका लागि कार्ययोजना पारित गरेको हो।

यातायात क्षेत्रलाई व्यवस्थित, पारदर्शी प्रविधिमैत्री र यात्रुमैत्री बनाउने उद्देश्यका साथ मन्त्री ओमविक्रम भाट (सरल)ले यातायात कार्यालयका प्रमुख, ट्राफिक प्रहरी, सुरक्षा निकायसहितका सरोकारवालासँग बैठक गरेर पाँचबुँदे कार्ययोजना पारित गरेको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार प्रदेशका सबै यातायात कार्यालयको संस्थागत तथा भौतिक सुधार गर्दै प्रविधीमैत्री बनाउने, वषौँदेखि नवीकरण हुन नसकेका सवारीसाधनको नवीकरण प्रक्रिया सहज, सरल र व्यवस्थित बनाउने, इभी स्कुटरको दर्ता, सञ्चालन तथा नियमनका लागि आवश्यक कानुनी व्यवस्था गर्ने, यातायात कार्यालयबाट प्रवाह गर्ने सूचना तथा सेवाहरूलाई डिजिटल माध्यमबाट सहज, प्रभावकारी रूपमा उपलब्ध गराउन एकीकृत मोबाइल एप निर्माण गर्ने निर्णय गरिएका छन्।

यसअघि सडक सुरक्षाका लागि एएनपिआर क्यामेरा जडान, चिसापानी–गड्डाचौकी, धनगढी–अत्तरिया–मोहना सडकमा ट्राफिक लाइट जडान, ट्राफिक व्यवस्था सुदृढीकरण गर्ने निर्णय गरिएका थिए। मन्त्री भाटले जिम्मेवारी सम्हाले लगत्तै वषौँदेखि ठेक्का लिएर योजना अलपत्र पार्ने ठेकेदारसँगको ठेक्का सम्झौता तोड्ने निर्णय गरेका थिए।

सुझावित समाचार