एनएसजेएफ पल्सर अवार्डको वर्ष उत्कृष्ट खेलाडीमा चन्द्र र एरिका

बिहिबार, १८ भदौ, २०८३
डिजिटल संस्करण

बक्सिङका चन्द्रबहादुर थापामगर र कराँतेकी एरिका गुरुङ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ का सर्वश्रेष्ठ खेलाडी बनेका छन्।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले बिहिबार भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको ब्लू पभेलियन हलमा आयोजना गरेको स्पोर्टस अवार्डको २३औँ संस्करणमा चन्द्रबहादुरले वर्षका उत्कृष्ट पुरुष र एरिकाले वर्षकी उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेका हुन्। एरिका लगातार तेस्रोपटक वर्ष महिला खेलाडी घोषित भएकी हुन्।

यसैगरी, कराँतेकी मनिषाकुमारी बोहरा वर्षकी उत्कृष्ट युवा खेलाडी, कराँतेका कुशल श्रेष्ठ वर्षका उत्कृष्ट प्रशिक्षक र भलिबलकी मिना सुनारले पिपल्स च्वाइसको अवार्ड जिते। यी पाँचै विधाका विजेताले पल्सर बाइक मोटरसाइकल पुरस्कार प्राप्त गरे। 

यसैगरी अन्य चार विधा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डबाट सम्मानितलाई जनही एक लाख रुपियाँ पुरस्कार प्रदान गरियो।

संयुक्त अरब इमिरेट्सको दुबईमा सम्पन्न अन्तर्राष्ट्रिय बक्सिङ महासंघ (आइबा) पुरुष विश्व च्याम्पियनपसिपमा काश्य पदक जितेर इतिहास बनाएपछि चन्द्रबहादुर उत्कृष्ट वर्ष खेलाडीको हकदार बनेका हुन्। उनी विश्व बक्सिङमा पदक जित्ने पहिलो र एक्लो नेपाली बक्सर हुन्। यस अवार्डका लागि  दीपेन्द्रसिंह ऐरी (क्रिकेट), सोमबहादुर कुमाल (एथ्लेटिक्स), प्रदीप बैजाली मगर (कराँते) र सद्भाव आचार्य (गल्फ) पनि मनोयनमा परेका थिए। गोल्छा समूहका अध्यक्ष अमिताभ अग्रवालले चन्द्रबहादुरलाई अवार्ड प्रदान गरे।

वर्षकी उत्कृष्ट महिला खेलाडी २०८२ विधामा एरिकाले कराँतेकै सानुमाया थिङ र सविना श्रेष्ठ, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, फुटबलकी साबित्रा भण्डारी (साम्बा)लाई पछाडि पारिन्।

एरिकाले गत वर्ष मोरक्कोको रावतमा सम्पन्न कराँते वान प्रिमियर लिगको ६८ केजीमाथि तौल समूहमा काश्य पदक जित्न सफल भएकी थिइन्। टर्कीको इस्तानबुलमा भएको डब्लुकेएफ कराँते वान प्रिमियर लिग रजत पदक, चीनमा सम्पन्न डब्लुकेएफ कराँते वान प्रिमियर लिगमा रजत पदक, मलेसियाको क्वालालम्पुरमा सम्पन्न डब्लुकेएफ कराँते वान सिरिजमा स्वर्ण र थाइल्यान्ड ओपनमा एकल र टिम फाइटमा स्वर्ण जितेकी थिइन्।

सुझावित समाचार