भवितव्यमा तर्कले काम गर्दैन, सुरक्षा निकायलाई स्रोतसम्पन्न बनाउनुपर्छ : मनीष झा

बिहिबार, १८ भदौ, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले भवितव्य भावनात्मक विषय भएकाले त्यसमा तर्कले काम नगर्ने बताएका छन्। बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद झाले भने, ‘थाहा भएको कुरामा तर्कले काम गर्छ, थाहा नभएको कुरा भवितव्य हो।’ उनले पछिल्लो घटनाक्रममा फरक–फरक र अनपेक्षित अपेक्षाहरू प्रस्तुत भएको उल्लेख गर्दै राजनीतिक रूपमा फरक किसिमको चरित्र देखिनु स्वागतयोग्य रहेको बताए।

उनले संकटका वेला नेपाली समाज एक ठाउँमा उभिएको भन्दै त्यसलाई सकारात्मक रूपमा लिनुपर्ने बताए। धनुषाको रघुनाथमा स्थानीय नागरिक आफैँलाई दुई छाकको जोहो गर्न गाह्रो भइरहेको अवस्थामा पनि देखाएको सदभाव मार्मिक रहेको उनको भनाइ थियो।

सांसद झाले नेपाली सेनाप्रति सम्मान व्यक्त गर्दै सुरक्षा निकायको स्रोत–साधन र क्षमताबारे गम्भीर भएर सोच्नुपर्ने आवश्यकता औँल्याए। प्रहरीसँग हेलिकोप्टर नभएको विषयलाई पनि सोच्नुपर्ने बताउँदै उनले सुरक्षा निकायलाई आधुनिक र स्रोसम्पन्न बनाउनुपर्नेमा जोड दिए।

‘हाम्रा सुरक्षा निकाय सधैँ लठ्ठीकै भरमा चल्ने कि स्रोतसम्पन्न गर्ने, अब सोच्ने वेला भएको छ,’ झाले भने। उनले विपत् तथा आकस्मिक परिस्थितिमा प्रभावकारी उद्धार र व्यवस्थापनका लागि राज्यका सुरक्षा निकायलाई आवश्यक स्रोत, साधन र प्रविधिसहित सक्षम बनाउनुपर्ने धारणा राखे।

See More On

सुझावित समाचार