कञ्चनपुरको भीमदत्त नगरपालिका– ३, महेन्द्रनगरमा रहेको लिटिल बुद्ध एकेडेमी (एलबिए)ले भोटेकोशी र त्रिशूलीका बाढीपीडितको राहतका लागि आर्थिक सहयोग गरेको छ। बुधबार एलबिएले आठ लाख २५ हजार रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम जम्मा गरेको जनाएकाे छ।
एलबिएका प्रिन्सिपल श्यामसिंह मौनीले राष्ट्रिय विपतका वेला विद्यालय, शिक्षक, कर्मचारी, विद्यार्थीबाट संकलन गरिएको रकम बाढीपीडित नागरिकको राहत, उद्धारका लागि सहयोग गरेको बताए। उनका अनुसार विद्यालयबाट तीन लाख ५३ हजार आठ रुपैयाँ, शिक्षक र कर्मचारीबाट दुई लाख ४४ हजार ७६२, विद्यार्थीबाट दुई लाख २७ हजार २४० रुपैयाँ संकलन गरिएको हो।
साथै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (एन प्याब्सन)मा ५० हजार र उच्च शिक्षालय तथा माध्यामिक संघ नेपाल (हिसान)मा २५ हजार जम्मा गरिएको छ। एन प्याब्सन र हिसानले पनि देशभर संकलन गरेर सरकारलाई नै उक्त रकम बुझाउनेछ।
विद्यालयका संस्थापकसमेत रहेका प्रिन्सिपल मौनीले एक साताअघि व्यक्तिगत तर्फबाट एक लाख आर्थिक सहयोग गरेका थिए। लिटिल बुद्ध एकेडेमी (एलबिए)ले विगतका वर्षहरूमा समेत विपतका वेला यसरी नै सक्दो आर्थिक, भौतिक सहयोग गर्दै आएको थियो।