भोटेकोशी बाढीपीडितलाई होटेल संघ नेपालको सहयोग

बिहिबार, १८ भदौ, २०८३
डिजिटल संस्करण

भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिक तथा पर्यटकको उद्धार, राहत र पुनर्स्थापनाका लागि होटेल संघ नेपालले सदस्य होटेलहरूलाई सहयोग गर्न आह्वान गरेको छ।

संघका अनुसार अधिकांश सदस्य होटेलहरूले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेका छन्। हालसम्म होटल किङ्सबेरीले एक करोड ११ लाख रुपैयाँ, चन्द्रागिरी हिल्सले ५२ लाख ५१ हजार, होटेल मेची क्राउनले २६ लाख, एभरेस्ट होटेलले २० लाख र रामडा इन्कोर ठमेलले ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन्। अन्य सदस्य होटेल तथा कर्मचारीहरूबाट समेत राहत कोषमा रकम जम्मा भइरहेको संघले जनाएको छ।

कतिपय होटेलहरूले खाद्यान्न, लत्ताकपडा, औषधि तथा अन्य अत्यावश्यक सामग्री प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा उपलब्ध गराइरहेका छन्।

बाढीमा बेपत्ता नागरिक तथा विदेशी पर्यटकका आफन्तलाई खोजी तथा अवस्थाबारे जानकारी लिन सहज बनाउन संघले प्रदेश तथा जिल्ला संघसँग समन्वय गरी निःशुल्क बसोबास र खानपानको व्यवस्था मिलाएको जनाएको छ। नेपाल पर्यटन बोर्डमा स्थापना गरिएको सहायता केन्द्रमार्फत पनि आवश्यक समन्वय र मानवीय सहयोग भइरहेको संघले जनाएको छ।

संघले बाढीमा ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना जनाएको छ। मृतकहरूको सम्झनामा प्रार्थना सभा आयोजना गर्ने तयारीसमेत गरिएको संघले जनाएको छ।

सुझावित समाचार