प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य तीव्र पारिएको छ। नेपाली सेनाले हवाई साधनमार्फत विभिन्न स्थानबाट ६ जनाको उद्धार गरेको छ।
लाङटाङ, चिलिमे, त्रिशूली–३ ए र त्रिशूली–३ बी जलविद्युत् आयोजनाका टनेलमा संयुक्त टोलीले खोज तथा उद्धार जारी राखेका छन्। त्रिशूली–३ ए मा लेदो र माटो हटाउँदै टनेलको आउटलेट विस्तार गर्ने काम भइरहेको छ भने त्रिशूली–३बीमा आयोजनाको कार्यालय तथा निवाससम्म पुग्ने मार्ग निर्माण भइरहेको छ।
नुवाकोट, रसुवा, धादिङ, चितवन र नवलपरासी पूर्वलगायत प्रभावित क्षेत्रमा नाै हजार तीन सयभन्दा बढी नेपाली सेना परिचालन गरिएको छ। टोलीले घाइतेको उद्धार, शव व्यवस्थापन, सडक खुलाउने तथा स्वास्थ्य सेवा प्रदान गरिरहेको छ।
प्रधानसेनापति महारथी अशोकराज सिग्देलले उद्धार क्षेत्रको स्थलगत निरीक्षण गर्दै प्रभावकारी समन्वयका साथ उद्धार कार्यलाई निरन्तरता दिन निर्देशन दिएका छन्।