रसुवाको भोटेकोशी–त्रिशूली बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले विशेष राहत तथा सहयोग उपलब्ध गराउने भएको छ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बिहीबार बसेको नेपाल प्रहरीको नीति निर्माण समितिको बैठकले दिवंगत प्रहरी कर्मचारीका परिवारलाई प्रहरी नियमावलीअनुसार प्राप्त हुने सेवासुविधाबाहेक थप राहत तथा सहयोग उपलब्ध गराउने निर्णय गरेको हो।
निर्णयअनुसार बाढीमा परी मृत्यु भएका प्रत्येक प्रहरी कर्मचारीका परिवारलाई १० लाख रुपैयाँ राहत रकम प्रदान गरिनेछ। यस्तै, नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋण पूर्ण रूपमा मिनाहा गरिने भएको छ।
त्यसैगरी, दिवंगत प्रहरी कर्मचारीका परिवारबाट इच्छुक एकजना सदस्यलाई सिपमूलक तालिम प्रदान गरी रोजगारीका लागि आवश्यक पहल गरिने नेपाल प्रहरीले जनाएको छ।
दिवंगत प्रहरी कर्मचारीका सन्ततिलाई नेपाल प्रहरी स्कुलमा शैक्षिक शुल्क मिनाहा गरी अध्ययनको व्यवस्था मिलाउने निर्णयसमेत गरिएको छ।
नेपाल प्रहरीले बाढीमा ज्यान गुमाएका आफ्ना कर्मचारीका परिवारलाई आर्थिक राहतसँगै दीर्घकालीन सहयोग उपलब्ध गराउने उद्देश्यले यी निर्णय गरेको जनाएको छ।