उदयपुरमा समग्र अपराधका घटना केही घटे पनि आत्महत्या, सवारी दुर्घटना र महिलामाथि हुने हिंसाका घटनाले सुरक्षा चुनौती कायमै रहेको देखाएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरले उपलब्ध गराएको पछिल्ला तीन आर्थिक वर्षको तथ्यांकले जिल्लामा अपराधको स्वरूप र प्रवृत्तिमा उतारचढाव देखाएको हो।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी गणेशबहादुर बमका अनुसार आर्थिक वर्ष ०८०/८१ मा जिल्लामा विभिन्न प्रकृतिका ५९८ वटा घटना तथा मुद्दा दर्ता भएका थिए। आर्थिक वर्ष ०८१/८२ मा यो संख्या बढेर ६१६ पुगेको थियो। तर, आर्थिक वर्ष ०८२/८३ मा घटेर ५७१ मा आएको छ। कुल घटना घटे पनि गम्भीर प्रकृतिका केही अपराध भने बढेको तथ्यांकले देखाएको छ।
तीन वर्षको तथ्यांकमा सबैभन्दा चिन्ताजनक पक्ष आत्महत्या देखिएको छ। झुन्डिएर आत्महत्या गर्नेको संख्या आर्थिक वर्ष ०८०/८१ मा १०६ रहेकोमा ०८१/८२ मा घटेर ७७ पुगेको थियो। तर, ०८२/८३ मा पुनः बढेर १०० पुगेको छ। विष सेवनबाट आत्महत्या गर्ने घटना क्रमशः १, १४ र १० वटा दर्ता भएका छन्।
आत्महत्याको यो तथ्यांकले मानसिक तथा सामाजिक समस्याको पहिचान र रोकथाममा थप ध्यान दिनुपर्ने देखाएको डिएसपी बमले बताए।
त्यसैगरी, सवारी दुर्घटनाबाट हुने मृत्यु पनि उदयपुरको अर्को ठुलो चुनौतीका रूपमा देखिएको छ। आर्थिक वर्ष ०८०/८१ मा सवारी दुर्घटनामा ३० जनाको मृत्यु भएको थियो। ०८१/८२ मा २६ जनाले ज्यान गुमाएका थिए। तर, ०८२/८३ मा यो संख्या बढेर ४१ पुगेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा १५ जनाको वृद्धि हुनु सडक सुरक्षाका दृष्टिले गम्भीर विषय भएको प्रहरीको भनाइ छ।
लागुऔषधसम्बन्धी अपराध भने पछिल्लो आर्थिक वर्षमा घटेको देखिन्छ। आर्थिक वर्ष ०८०/८१ र ०८१/८२ मा समान ८९–८९ वटा मुद्दा दर्ता भएकामा ०८२/८३ मा घटेर ६५ वटा छन्। संख्या घटे पनि लागुऔषध नियन्त्रण जिल्लाको सुरक्षा चुनौतीबाट बाहिरिएको छैन।
महिला तथा बालबालिकाविरुद्धका अपराधमा पनि प्रहरीको तथ्यांकले गम्भीर अवस्था देखाएको छ। जबर्जस्ती करणीका घटना आर्थिक वर्ष ०८०/८१ मा ३९, ०८१/८२ मा २६ र ०८२/८३ मा पुनः बढेर ४४ पुगेका छन्। जबर्जस्ती करणी उद्योगका घटना क्रमशः ११, २० र पाँचवटा दर्ता भएका छन्। बाल यौन दुरुपयोगका घटना तीन आर्थिक वर्षमा क्रमशः सात, १० र आठवटा दर्ता भएका छन्। बहुविवाहका मुद्दा क्रमशः पाँच, पाँच र ६ वटा दर्ता भएका छन्।
बैंकिङ कसुरमा भने ठुलो उतारचढाव देखिएको छ। आर्थिक वर्ष ०८०/८१ मा ४० वटा घटना दर्ता भएकामा ०८१/८२ मा बढेर १०१ पुगेका थिए। पछिल्लो आर्थिक वर्षमा भने घटेर ४३ मा आएका छन्।
डिएसपी बमका अनुसार चोरीका घटना ०८०/८१ मा ३७ वटा रहेकामा ०८१/८२ मा घटेर २२ भएका थिए। तर, पछिल्लो आर्थिक वर्षमा पुनः बढेर २८ पुगेका छन्। ठगीका घटना भने क्रमशः नाै, १५ र ११ वटा दर्ता भएका छन्।
प्रहरीको तथ्यांकअनुसार कर्तव्य ज्यानका ०८०/८१ मा १० वटा मुद्दा दर्ता भएकामा ०८१/८२ मा पाँच र ०८२/८३ मा ६ वटा मुद्दा दर्ता भएका छन्। यसैगरी, ज्यान मार्ने उद्योगका मुद्दा क्रमशः सात, पाँच र १३ वटा दर्ता भएका छन्।
भवितव्य ज्यानका घटनामा पनि उतारचढाव देखिएको छ। आर्थिक वर्ष ०८०/८१ मा ४७ वटा मुद्दा दर्ता भएकामा ०८१/८२ मा बढेर ७३ पुगेका थिए। ०८२/८३ मा भने घटेर ५९ वटा मुद्दा दर्ता भएका छन्।
डिएसपी बमका अनुसार आत्महत्या, सडक दुर्घटना, जबर्जस्ती करणी, बहुविवाह, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र लागुऔषधजस्ता विषय सामाजिक सुरक्षाका प्रमुख चुनौतीका रूपमा देखिएका छन्।
उनले प्रहरीको तथ्यांक केवल मुद्दा र घटनाको संख्या मात्र नभई समाजमा बढिरहेका जोखिमको संकेतसमेत भएको बताए।
‘अपराध नियन्त्रणसँगै आत्महत्या न्यूनीकरण, सडक सुरक्षा, लागुऔषध नियन्त्रण तथा महिला र बालबालिकाको सुरक्षासम्बन्धी सचेतना र रोकथामका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने देखिन्छ,’ उनले भने।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईंका अनुसार अपराधको संख्या मात्र घट्नु वा बढ्नुलाई आधार बनाएर जिल्लाको सुरक्षा अवस्था मूल्यांकन गर्नुभन्दा कुन प्रकृतिका अपराध बढे, कुन घटे र त्यसको सामाजिक कारण के हो भन्ने विषयमा सरोकारवालाले ध्यान दिन आवश्यक छ।
‘यसका लागि वडा, स्थानीय तह, प्रदेश सरकार तथा विभिन्न गैरसरकारी संस्थामार्फत जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न जरुरी छ,’ उनले भने। एसपी चापागाईंले प्रहरीले अपराध न्यूनीकरणका लागि जिल्लामा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भए पनि ती प्रभावकारी बन्न नसकेको बताए। अपराध न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए।