धनुषाको नगराइन नगरपालिका– ५ स्थित खिरखिरिया जाने भित्री सडकछेउको झाडीबाट प्रहरीले १०७ किलो ९९८ ग्राम अवैध लागुऔषध गाँजा बरामद गरेको छ। भदौ १८ गते राति करिब २:३० बजे उक्त स्थानमा गाँजा लुकाएर राखिएको गोप्य सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय लग्माजटहीबाट प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरीले झाडीमा खोजतलास गर्ने क्रममा प्लास्टिकमा बेरिएका नाै पोका गाँजा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ। बरामद गाँजालाई इलाका प्रहरी कार्यालय लग्माजटहीमा ल्याएर तौल गर्दा प्लास्टिकसहित कुल १०९ किलो रहेको थियो।
त्यसपछि जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई प्लास्टिक हटाएर पुनः तौल गर्दा गाँजाको वास्तविक तौल १०७ किलो ९९८ ग्राम रहेको प्रहरीले जनाएको छ।
बरामद लागुऔषध आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ। घटनामा संलग्न व्यक्तिको पहिचान तथा बरामद गाँजाको स्रोतबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।