मकवानपुरको कैलाश गाउँपालिकाले छोनामा अर्थात् न्वागीको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने घोषणा गरेको छ । सीमान्तकृत समुदाय चेपाङको बाहुल्य रहेको गाउँपालिकामा उनीहरूको मुख्य पर्व न्वागीको अवसर पारेर गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
पालिकाले न्वागीको अवसरमा भदौ २२ गते सोमबार र २३ गते मंगलबार सार्वजनिक बिदा दिने भएको हो । गाउँपालिकाका अध्यक्ष लोक मुक्तानले उक्त दिन गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी कार्यालय एवं शिक्षण संस्थाहरू बन्द हुने जानकारी दिए ।
‘न्वागीको अवसरमा शुभकामना दिँदै गाउँपालिका अध्यक्ष मुक्तानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देशको राष्ट्रिय संस्कृतिको महत्त्वपूर्ण अंगको रूपमा प्रकृति पूजक अतिसीमान्तकृत चेपाङ जातिको महत्त्वपूर्ण पर्व न्वागी (छोनाम)को अवसरमा गाउँपालिकाभरि स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेका उल्लेख गरेका छन् ।
अध्यक्ष मुक्तानले शुभकामना सन्देशमा चेपाङ समुदायले परम्परागत रूपमा मनाउँदै आएको न्वागी पर्व प्रकृतिप्रतिको श्रद्धा, सांस्कृतिक पहिचान तथा सामुदायिक एकताको प्रतीक रहेको उल्लेख गरेका छन्। उनले यस पर्वले चेपाङ समुदायको मौलिक संस्कृति, परम्परा र पहिचान संरक्षण तथा प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको बताए ।
शुभकामना सन्देशमार्फत उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण चेपाङ समुदाय तथा कैलाशवासीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्। नेपालका विविध सांस्कृतिक पर्वहरूले समुदायबीच आपसी सदभाव, सहिष्णुता, एकता र भाइचाराको भावना थप मजबुत बनाउने विश्वाससमेत उनले व्यक्त गरेका छन् ।
यद्यपि, हालैको प्राकृतिक विपत्तिका कारण प्रभावित नागरिकप्रति सहानुभूति र समवेदना व्यक्त गर्दै अध्यक्ष मुक्तानले यस वर्ष न्वागी पर्वलाई विगतझैँ तडकभडक र मनोरञ्जनात्मक कार्यक्रमसहित नमनाउन आग्रह गरेका छन्। विपतकाे अवस्थालाई ध्यानमा राख्दै पर्वलाई मर्यादित र संयमित रूपमा मनाउन उनले अनुरोध गरेका हुन् ।
गाउँपालिकाले परम्परागत रूपमा गरिने प्रकृति तथा पूर्वज पूजा, सांस्कृतिक गतिविधि र पारिवारिक जमघटलाई निरन्तरता दिँदै सामाजिक सदभाव, एकता र सांस्कृतिक संरक्षणमा जोड दिन सबैमा आग्रह गरेको छ।