विपतका बिच सरकारको सन्देश- ‘नेपाल भ्रमणका लागि खुला छ’

बिहिबार, १८ भदौ, २०८३
डिजिटल संस्करण

हालैको प्राकृतिक विपत्का कारण केही जिल्लामा ठुलो क्षति भए पनि नेपालका अधिकांश पर्यटकीय गन्तव्य सुरक्षित र सञ्चालनमा रहेको भन्दै सरकारले अन्तर्राष्ट्रिय समुदायलाई नेपाल भ्रमणका लागि खुला रहेको सन्देश दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सामाजिक सञ्जालमार्फत विपत्बाट प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गर्दै उद्धार, राहत तथा पुनर्स्थापनामा खटिएका सबैप्रति आभार व्यक्त गरेको छ ।

मन्त्रालयका अनुसार विपत्बाट केही क्षेत्र प्रभावित भए पनि अधिकांश भूभागमा जनजीवन सामान्य बन्दै गएको छ । सुरक्षित रहेका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकका लागि भ्रमण गतिविधि सञ्चालनमा रहेको मन्त्रालयले जनाएको छ । सरकारका अनुसार सुरक्षित गन्तव्यमा पर्यटकको आगमनले विपत्बाट प्रभावित समुदायलाई आर्थिक तथा सामाजिक रूपमा सहयोग पुर्याउनुका साथै स्थानीय व्यवसाय र रोजगारीलाई निरन्तरता दिन योगदान गर्नेछ । मन्त्रालयले विपत्को कठिन समयमा नेपालसँग ऐक्यबद्धता जनाउँदै सुरक्षित रहेका गन्तव्यमा भ्रमण गर्न पर्यटक तथा अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ । मन्त्रालयले आफ्नो सन्देशमा भनेको छ, ‘यो नेपालसँग उभिने समय हो, नेपाल भ्रमण गर्ने समय हो । नेपालले तपाईँलाई बोलाइरहेको छ ।’

नेपाल पर्यटन बोर्डका प्रवक्ता सुनील शर्माले भोटेकोशी बाढीबाट प्रभावित तीन जिल्लाबाहेक अधिकांश पर्यटकीय क्षेत्र सुरक्षित रहेको बताएका छन् । उनले अन्तर्राष्ट्रिय उडान तथा पर्यटन गतिविधि सञ्चालनमा रहेको बताउँदै सुरक्षित गन्तव्यमा भ्रमण गर्न आग्रह गरे । 

‘कलिङ नेपाल’ अभियान
नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐरले पर्यटन पुनरुत्थानका लागि ‘कलिङ नेपाल’ अभियानलाई प्रभावकारी बनाउने तयारी भइरहेको बताए । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा आवश्यक परे हवाई भाडा तथा होटेलमा छुट वा निशुल्क सुविधा उपलब्ध गराउने प्रस्तावसमेत अघि बढाइएको उनले जानकारी दिए ।

समितिकी सभापति सुम्निमा उदासले ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश मात्र पर्याप्त नहुने भन्दै सरकार र निजी क्षेत्रले संयुक्त रूपमा विश्वास जगाउने गरी काम गर्नुपर्ने बताइन् । पर्यटनमन्त्री खड्गराज पौडेल ‘गनेस’ले उद्धार तथा राहतलाई व्यवस्थित गर्न हेलिकोप्टर परिचालन एकद्वार प्रणालीमा ल्याइएको जानकारी दिए । उनले भोटेकोशी क्षेत्रबाहेक दैनिक पाँचवटा उडान सार्वजनिक सेवाका रूपमा निशुल्क सञ्चालन भइरहेको बताए । टानका अध्यक्ष सागर पाण्डेले भारतीय नागरिकसहित करिब ९९५ विदेशी पर्यटक प्रभावित क्षेत्रमा हराइरहेको जानकारी दिँदै खोज तथा उद्धारसँगै नेपाल सुरक्षित रहेको सन्देश अन्तर्राष्ट्रिय सञ्चारमाध्यममार्फत प्रभावकारी रूपमा प्रवाह गर्नुपर्ने बताए ।

सुझावित समाचार