भारतबाट भूकम्प प्रभावितका लागि राहत सामग्रीको पाँचौँ खेप बुधबार आइपुगेको छ । भारतीय सेनाको विमानबाट उद्धारका लागि विशेष उपकरणसहित ११ सदस्यीय उद्धार टोली र ५.५ टन अत्यावश्यक औषधि आइपुगेको छ । भारतीय राजदूत नवीन श्रीवास्तवले परराष्ट्र मन्त्रालयको भारत हेर्ने महाशाखाका सहसचिव गेहेन्द्रराज भण्डारीलाई पाँचौँ खेपको राहत हस्तान्तरण गरेका छन् ।
चीनले बेलिब्रिजसहित राहतको तेस्रो खेप पठाउने तयारी गरेको छ । बेलिब्रिज, मेडिकल उपकरण तथा विज्ञहरूसहितको टोली आउन लागेको चिनियाँ दूतावास स्रोतले जनाएको छ । नेपालले चीनसँग ३० र भारतसँग सात बेलिब्रिज मागेको थियो । चीनले चरणबद्ध रूपमा बेलिब्रिज पठाइदिने आश्वासन दिएको छ ।
चीनले १० भदौको पहिरोपछि ३० करोड नगद अनुदान, चिनियाँ रेडक्रसका तर्फबाट दुई लाख अमेरिकी डलर तथा हालसम्म ५५.८ टन राहत सामग्री पठाएको छ । प्रकोप प्रभावित क्षेत्रको तस्बिर, भूउपग्रह (स्याटेलाइट) तथा जलवैज्ञानिक (हाइड्रोलोजिकल) डेटा चिनियाँ सुरुङ (टनेल) उद्धार विज्ञहरूको दुई टोली र पाँचजना डिएनए पहिचानविज्ञ पनि पठाइसकेको छ ।
चीन–नेपाल सिमानाको केरुङ–रसुवागढी नाकामा भीषण पहिरो गएदेखि चिनियाँ मौसम विज्ञान अधिकारीहरूले नेपाललाई मौसम अनुगमन, पूर्वानुमान, पूर्वसूचना तथा प्रभावसम्बन्धी सेवाहरू उपलब्ध गराइरहेको चिनियाँ पक्षले जनाएको छ । जापानी सहयोग प्याकेजमा प्रभावित समुदायका लागि ९.३ टन कम्बल, प्लास्टिक सिट, सुत्नका लागि प्रयोग हुने म्याट्रेस (स्लिपिङ प्याड), पाल र बोक्न मिल्ने जेरिक्यानहरू छन् ।
भुटानका राजा जिग्मी खेसर नाम्ग्याल वाङचुकको निर्देशनअनुसार भुटान सरकारले नेपालका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड (भारु) सहयोग प्रदान गरेको छ । नेपालका लागि भुटानी गैरआवासीय राजदूत भी नामग्यालले नयाँदिल्लीस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत डा. सुरेन्द्र थापालाई उक्त रकमको चेक बुधबार हस्तान्तरण गरेका छन् ।