रसुवा बाढीपीडितका लागि कन्टिनेन्टल ट्रेडिङको २५ लाख सहयोग

मंगलबार, १६ भदौ, २०८३
डिजिटल संस्करण

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्यfउने उद्देश्यले कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले २५ लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीका अध्यक्ष सुहृद घिमिरे, कार्यकारी उपाध्यक्ष रेखा घिमिरे तथा निर्देशक अदीति घिमिरेसहितको टोलीले अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरेको हो।

विपतकाे यस कठिन घडीमा पीडित नागरिकको दुःखमा साथ दिन तथा सरकारको राहत र उद्धार अभियानमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा योगदान गरेको कम्पनीले जनाएको छ।

चेक हस्तान्तरणका क्रममा कन्टिनेन्टल ट्रेडिङका प्रतिनिधिहरूले बाढी तथा पहिरोमा परी ज्यान गुमाएका सम्पूर्ण नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्। साथै, विपतमा परी घाइते भएका सम्पूर्ण नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

कम्पनीले आफ्नो सहयोगले विपतबाट प्रभावित परिवारको राहत तथा उद्धार कार्यमा केही भए पनि योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। आगामी दिनमा पनि आवश्यकता तथा आफ्नो क्षमता र सामर्थ्यअनुसार मानवीय सहायता तथा सामाजिक उत्तरदायित्वका कार्यलाई निरन्तरता दिने कम्पनीकाे प्रतिबद्धता छ।

सुझावित समाचार