गेटामा चिकित्सा शिक्षा पठनपाठनको तयारी : प्रदेशका चार अस्पताललाई शिक्षण अस्पतालको रूपमा प्रयोग गर्ने सम्झौता

मंगलबार, १६ भदौ, २०८३
डिजिटल संस्करण

यसै शैक्षिक सत्रबाट चिकित्सा शिक्षा पठनपाठनको तयारी गरिरहेको कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले सुदूरपश्चिम प्रदेश सरकारमातहतका चारवटा अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न पाउने भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय र विश्वविद्यालयबिच सेती, महाकाली र लम्कीचुहा प्रादेशिक अस्पताल तथा टीकापुर अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्नेसम्बन्धी सम्झौतापत्रमा सोमबार हस्ताक्षर भएको छ ।

चिकित्सा शिक्षाको पठनपाठन सुरु गर्नका लागि निर्धारित मापदण्ड पूरा गर्न प्रदेशका अस्पताललाई शिक्षण अस्पतालको रूपमा प्रयोग गर्ने सहमति गरिएको हो । चिकित्सा शिक्षाको पढाइ सुरु गर्न तीन सय शय्याको अस्पताल तीन वर्ष सञ्चालन भएको हुनुपर्ने मापदण्ड छ । सहमतिसँगै शैक्षिक कार्यक्रम सञ्चालन गर्ने आधार तयार भएको विश्वविद्यालयले जनाएको छ।  

विश्वविद्यालयका रजिस्ट्रार डा. भीमबहादुर चन्द र सामाजिक विकास मन्त्रालयका निमित्त सचिव डा. नीरज अर्यालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । रजिस्ट्रार चन्दले यसै वर्षबाट एमबिबिएसलगायतका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक तयारी भइरहेको बताए । त्यसका लागि केही शैक्षिक जनशक्ति नियुक्त भइसकेको र केही नियुक्तिको क्रममा रहेको उनले जानकारी दिए । प्रशासनिक जनशक्ति व्यवस्थापनको काम पनि अगाडि बढेको चन्दले बताए ।

गेटामा यसै शैक्षिक सत्रबाट १२० जना विद्यार्थीका लागि एमबिबिएस, बिएस्सी नर्सिङ, बी अप्टोमेट्री र बिएस्सी एमएलटीको पठनपाठन सुरु गर्ने तयारी छ । एमबिबिएसमा ५०, बिएस्सी नर्सिङमा ३० जना तथा अन्य विधामा २०–२० विद्यार्थी भर्ना गरिनेछ । आगामी माघ अन्तिमतिर पठनपाठन सुरु हुने विश्वविद्यालयले जनाएको छ । शैक्षिक कार्यक्रम सञ्चालनको अनुमति दिनुअघि चिकित्सा शिक्षा आयोगको टोली यसै महिना विश्वविद्यालयको अनुगमनमा आउँदै छ ।

विश्वविद्यालय र मन्त्रालयबिचको सहमतिअनुसार यी चार अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालको रूपमा मान्यता दिनुका साथै योग्यता पुगेका कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई शिक्षकको पदनाम दिने छ । विश्वविद्यालयले शैक्षिक गतिविधि सञ्चालन तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि आर्थिक तथा प्राविधिक सहयोगसमेत गर्नेछ । 

सामाजिक विकास मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका डा. चेतराज जोशीले अस्पतालहरूमा विद्यार्थी पोस्टिङ भएर आउँदा थपिने उपकरण, प्रयोगात्मक औजार, पूर्वाधार व्यवस्थापन आदिमा पर्ने आर्थिक भार विश्वविद्यालयले व्यहोर्ने सहमति रहेको जानकारी दिए । उनका अनुसार अस्पतालले विद्यार्थीलाई ओपिडी, आकस्मिक कक्ष, शल्यक्रिया कक्ष, आइसियूलगायत सबै विभागमा क्लिनिकल अभ्यासको अवसर उपलब्ध गराउनेछन् । 

प्रदेश मन्त्रिपरिषद् बैठकले चार अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न दिने गरी विश्वविद्यालयसँग सहमति गर्न मन्त्रालयलाई अनुमति दिने निर्णय हालै गरेको थियो । सेती, महाकाली र लम्कीचुहा प्रादेशिक अस्पतालमा ५०–५० शय्या तथा टीकापुर अस्पताल ५१ शय्याको स्वीकृत दरबन्दी छ । अस्पताल विकास समितिबाट सेतीले थप ७५ शय्या र महाकालीले ५० शय्या सञ्चालन गरिरहेको छ ।

विश्वविद्यालयका रजिस्ट्रार चन्दले विश्वविद्यालयको ऐनमा टेकेर शिक्षण अस्पतालको रूपमा प्रयोग गर्नका लागि सम्झौता गरिएको बताए । ‘ती अस्पताललाई विश्वविद्यालयको शिक्षण अस्पताल बनाउने होइन, विश्वविद्यालयले शिक्षण अस्पतालको रूपमा प्रयोग मात्र गर्ने हो,’ उनले भने । स्वास्थ्य क्षेत्रको सुधारका लागि जिल्ला अस्पताल, स्वास्थ्यचौकी र स्वास्थ्य केन्द्रसँग समेत आगामी दिनमा सम्झौता गर्दै जाने योजना रहेको बताए ।

गेटामा स्वास्थ्य मन्त्रालयअन्तर्गत यसअघि सञ्चालित ५० शय्याको अस्पताल विश्वविद्यालयमातहत आइसकेको छ । यसै वर्षभित्र गेटा अस्पताल तीन सय शय्याको पूर्ण क्षमतामा सञ्चालन गर्ने विश्वविद्यालयको तयारी छ । गेटामा अस्पताल र शैक्षिक कार्यक्रम सञ्चालन गर्न सरकारले यस वर्ष साढे दुई अर्बभन्दा बढी बजेट विनियोजन गरेको छ । 

‘अस्पताल तीन सय शय्या पूर्ण क्षमतामा सञ्चालन गर्ने गरी पाँच सय शय्या सञ्चालनका लागि जनशक्ति व्यवस्थापनलगायतका काम यसै वर्ष अगाडि बढाउँछौँ,’ रजिस्ट्रार चन्दले भने । अस्पताल तथा शैक्षिक कार्यक्रम सञ्चालनका लागि विश्वविद्यालयले ७७ जना प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक नियुक्त गरिरहेको छ । त्यसमध्ये ३५ जना नियुक्ति लिइसकेका छन् ।

रजिस्ट्रार चन्दले विश्वविद्यालयको ऐनमा टेकेर नै शिक्षण अस्पतालको रूपमा प्रयोग गर्नका लागि प्रदेशसँग सम्झौता गरिएको बताए । उनले भने, ‘ती अस्पताललाई विश्वविद्यालयको शिक्षण अस्पताल बनाउने होइन, विश्वविद्यालयले शिक्षण अस्पतालको रूपमा प्रयोग मात्र गर्ने हो ।’ पहिलो चरणमा चार अस्पतालसँग सहमति गरिएको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रको सुधारका लागि जिल्ला अस्पताल, स्वास्थ्यचौकी र स्वास्थ्य केन्द्रसँग समेत आगामी दिनमा सम्झौता गर्दै जाने बताए ।  

सुझावित समाचार