साबिक विजेता सिराहाको सलहेस युथ क्लब चौथो अन्तर्राष्ट्रिय ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा सातदोबाटो युथ क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै चौथो सलहेस सेमिफाइनलमा प्रवेश गरेको हो । यी दुई टोलीबिचको क्वार्टरफाइनल खेल निर्धारित समय १–१ को बराबरीमा सकिएको थियो ।
सलहेसका फागुराम थारू, सनिश श्रेष्ठ, निसकुमार श्रेष्ठ र दीप कार्कीले पेनाल्टीमा गोल गरेका थिए । सलहेसका रोहन कार्कीले असफल पेनाल्टी प्रहार गरे । सातदोबाटोका विशाल भण्डारी, शिला र श्याम मुर्मूले पेनाल्टीमा गोल गरे । विश्व लामा र सामेल सुनुवारको प्रहार असफल भएपछि सातदोबाटोको यात्रा क्वार्टरफाइनलमै टुंगियो । सलहेसलाई अन्तिम चारमा पुर्याउन गोलरक्षक दीप कार्कीले उत्कृष्ट प्रदर्शन गरे ।
सुरुदेखि नै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले पहिलो हाफमा १–१ गोल गरे । भारतको जर्जियन युनाइटेड फुटबल क्लब कालिङपोङ र पाँचथरको फिदिम स्पोर्टिङ क्लबले सेमिफाइनलमा स्थान बनाइसकेका छन् । सोमबार अन्तिम क्वार्टरफाइनलमा नेपाल पुलिसले झापा–११ को सामना गर्नेछ ।