त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा पहिचान हुन नसकेका शवको संख्या बढेपछि अस्पताल प्रशासनले आफन्तले सहजै पहिचान गर्न सकून् भनेर शवको फोटोसमेत सार्वजनिक रूपमा टाँसेको छ।
अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोसयराका अनुसार आफन्त खोज्दै अस्पताल आउनेको संख्या बढिरहेको छ। उनीहरूले उपचाररत घाइते तथा शवगृहमा राखिएका शवका फोटो हेरेर आफ्ना परिवारका सदस्य पहिचान गर्ने गरेका छन्।
तर, अस्पतालमा राखिएका केही शवको पहिचान अझै हुन सकेको छैन। आफन्तको खोजी गर्दै अस्पताल आउने अधिकांशको परिवारका सदस्य अस्पतालमा फेला नपरेको अस्पताल प्रशासनले जनाएको छ।
यसैबिच, नेपाल प्रहरीको अनुसन्धान ब्युरोले पनि बेवारिसे अवस्थामा रहेका शवको फोटोसहितको विवरण आफ्नो वेबसाइटमा राखेर पहिचानका लागि पहल गरिरहेको छ।