भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिंक्सले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
विपद्को कठिन घडीमा प्रभावित परिवार तथा नागरिकहरूको पीडा न्यूनीकरण गर्न तथा उद्धार, राहत र पुनर्स्थापना कार्यमा सरकारसँग ऐक्यबद्धता जनाउँदै कम्पनीले उक्त सहयोग गर्ने निर्णय गरेको जनाएको छ।
‘एक्स्ट्रिम इनर्जी ड्रिंक्स सम्पूर्ण बाढीपहिरो प्रभावित नागरिकहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछ। विपद्का क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै कम्पनी दिवंगतहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ,’ कम्पनीले भनेको छ।
विपद्को समयमा आफ्नो ज्यानको जोखिम मोलेर उद्धार तथा राहत कार्यमा निरन्तर खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक, स्थानीय समुदाय एवं सम्बन्धित सरकारी तथा गैरसरकारी निकायहरूको योगदानप्रति एक्स्ट्रिमले उच्च सम्मान व्यक्त गरेको छ।