माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरङभित्र फसेका मानिसहरूका उद्धारका लागि नेपाली सेनाका इन्जिनियरहरूले ब्लास्टिङ गर्नेसम्मका प्रयास अघि बढाएका छन्।
पछिल्लो जानकारीअनुसार उद्धार स्थलमा नेपाली सेनाका ६६ जना, तालिमप्राप्त कुकुरसहितको विशेष खोज तथा उद्धार टोलीसहित सशस्त्र प्रहरी बलका १८ जना र नेपाल प्रहरीका ६ जना गरी कुल ९० जनाको संयुक्त टोली खटिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यसअघि टोलीले दिउँसो २ बजे सुरुङको मुख्य भाग ‘क्राउन हेड’मा पुगेर २×३ फिटको प्वाल बनाएको थियो। डोरीको सहायताले टोली तल झरेर बोलाउँदा भित्रबाट कुनै प्रतिक्रिया नआएपछि उद्धारलाई थप सहज र तीव्र बनाउन ठुला उपकरण, ब्लास्टिङ तथा प्वाल फराकिलो पार्ने काम एकसाथ जारी छ।