बागमतीबाट १३ लाखभन्दा बढीको अवैध मदिरासहित चार भारतीय पक्राउ

आइतबार, १४ भदौ, २०८३
डिजिटल संस्करण

सर्लाही प्रहरीले ठुलो परिमाणमा अवैध मदिरासहित चारजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

आइतबार पूर्व–पश्चिम राजमार्गअन्तर्गत बागमती नगरपालिका– १२, कर्मैया प्रहरी चेकपोस्टमा खटिएका सुरक्षाकर्मीले १३ लाख ५५ हजार रुपैयाँबराबरको अवैध मदिरा बरामद गरेका हुन्।

बाराबाट सर्लाहीको मलंगवा आउँदै गरेको डिएल २ सिएपी ४०१८ नम्बरको भारतीय कारको अगाडिको बोनट र सिटमुनि फल्स बटम बनाएर लुकाइछिपाई लैजाँदै गरेको अवस्थामा मदिरा बरामद गरिएको प्रहरीले जनाएको छ।

कारबाट प्रहरीले रेडलेबल ५० बोतल, रोयल स्ट्याग २४ बोतल, म्याकडोनेल ठुलो ३५ बोतल र म्याकडोनेल सानो ३९ बोतल बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।

बिल–बिजकसमेत नभएको उक्त मदिरासहित चारैजनालाई आवश्यक कारबाहीका लागि प्रहरीले हिरासतमा लिएको छ।

पक्राउ पर्नेमा भारतको सीतामढी जिल्ला, हरनैया पञ्चायत– ३ का ३३ वर्षीय दीपक कुमार (कार चालक), बेतिया जिल्ला, हतिया पञ्चायत– ८ का ३६ वर्षीय अल्बु यादव, लैरिया पञ्चायत– ६ का ३० वर्षीय कृष्णा भगत र वडा नम्बर ४ का २० वर्षीय आलोक कुमार रहेका छन्।

सुझावित समाचार