भोटेकोशी बाढी अपडेट : ७३५ जनाको शव फेला, २५ प्रहरी सम्पर्कविहीन

आइतबार, १४ भदौ, २०८३
डिजिटल संस्करण

भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र त्यसपछि गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ७३५ पुगेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढी तथा पहिरो प्रभावित विभिन्न जिल्लाबाट हालसम्म ७३५ जनाको शव फेला परेको हो।

प्रहरीका अनुसार सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन्। चितवनमा मात्रै २५९ जनाको शव फेला परेका छन्। यस्तै, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३७ र रसुवामा १३ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

बाढी तथा पहिरोमा परी उद्धार तथा सुरक्षाका लागि प्रभावित क्षेत्रमा खटिएका २५ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

विपतपछि खोज, उद्धार तथा राहत कार्यका लागि देशभरबाट ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ। पछिल्लो विवरणअनुसार सात हजार २९३ जना प्रहरी कर्मचारी प्रभावित विभिन्न क्षेत्रमा प्रत्यक्ष रूपमा खटिएका छन्।

बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रबाट घाइते तथा उद्धार गरिएका दुई हजार ७२५ जनाको विवरण प्राप्त भएको छ। तीमध्ये काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेको संख्या १६० रहेको प्रहरीले जनाएको छ।

हाल रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, तनहुँ तथा नवलपरासीका विभिन्न क्षेत्रमा खोज तथा उद्धार कार्य जारी छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली जोखिमपूर्ण क्षेत्रमा परिचालन गरी बेपत्ताको खोजी, उद्धार तथा क्षतिको विवरण संकलनमा जुटिरहेको छ।

सुझावित समाचार