बाढीका कारण माथिल्लो त्रिशूली ‘३ ए’ जलविद्युत् आयोजनामा फसेका व्यक्तिहरूको उद्धार कार्य जारी छ। सरकारले रातभरदेखि नै उद्धार तथा क्षति नियन्त्रणका कामलाई निरन्तरता दिएको जनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आइतबार बिहान करिब ४ बजे आयोजनाको क्षेत्रमा पुनः बाढी आएपछि त्रिशूली नदीको जलसतह पाँचदेखि १० मिटरसम्म बढेको छ। नदीको बहाब बढेसँगै आयोजनाको आसपासको किनारमा तीव्र कटान भइरहेको छ।
बाढीको जोखिम कायमै रहेकाले थप क्षति हुन नदिन सरकारले उच्च सतर्कता अपनाएको छ। आयोजनाको समग्र अवस्थाको निरन्तर निगरानी गर्दै उद्धार, क्षति आकलन तथा संरचना सुरक्षाका काम अघि बढाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
बाढी र पहिरोका कारण आयोजनास्थलमा थुप्रिएको माटो तथा लेदो हटाउन डोजरलगायतका भारी उपकरण पुनः परिचालन गर्ने तयारी भइरहेको छ।
यसैबिच, पहिरो र लेदोले पुरिएको टनेल पोर्टल तथा पावरहाउस क्षेत्रमा रहेका महत्त्वपूर्ण उपकरण सुरक्षित रूपमा निकाल्ने तयारी पनि गरिएको छ। आयोजनाको निगरानी तथा नियन्त्रणका लागि प्रयोग हुने १९ वटा सिसिटिभी क्यामेरा, एचडिआर र सेटअप बक्स माटो तथा लेदोमा पुरिएका छन्।
सडकमार्ग अवरुद्ध भएकाले ती उपकरण निकाल्न हेलिकाेप्टरमार्फत विशेष प्राविधिक टोली आयोजनास्थलमा पुर्याउने तयारी गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। हेलिकाेप्टरबाट उद्धार तथा प्राविधिक टोलीलाई पुरिएको भवननजिकै उतारेर उपकरण सुरक्षित रूपमा निकाल्ने योजना छ।
आयोजनास्थलमा बाढीको जोखिम अझै कायम रहेकाले उद्धार तथा प्राविधिक काम उच्च सतर्कताका साथ सञ्चालन भइरहेको सरकारले जनाएको छ।