गत बुधबार भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि स्वदेश तथा विदेशमा रहेका आमसर्वसाधारण, उद्योगी–व्यवसायी तथा संघ–संस्थाले आर्थिक सहायतालाई तीव्रता दिएका छन् । प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पछिल्लो तीन दिनमै सबा चार अर्ब रुपैयाँ थपिएको छ । अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार मध्याह्नदेखि शुक्रबारसम्म चार अर्ब ३८ करोड आठ लाख रुपैयाँ कोषमा जम्मा भएको हो ।
अर्थ मन्त्रालयका अनुसार बाढी आउनुअघि उक्त कोषमा दुई अर्ब १७ करोड २५ लाख रुपैयाँ मौज्दात थियो । भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण ठुलो जनधनको क्षति भएपछि नागरिक, उद्योगी–व्यवसायी, संघ–संस्था तथा अन्तर्राष्ट्रिय दाताले सहयोग रकम पठाउन थालेका छन् । सरकारले पनि सहयोगका लागि भन्दै आधिकारिक खाता र क्युआरकोड सार्वजनिक गरेको छ ।
यसबिचमा बिहीबारसम्म विभिन्न १० वाणिज्य बैंकहरूमा रहेका खातामा एक अर्ब ९१ करोड ८६ लाख ५० हजार नौ सय ११ रुपैयाँ सहयोग रकम जम्मा भएको थियो । शुक्रबार एकै दिन दुई अर्ब ४६ करोड २२ लाख रुपैयाँ संकलन भएको मन्त्रालयले जनाएको छ । यससँगै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ६ अर्ब ५५ करोड ३३ लाख रुपैयाँ मौज्दात भएको छ ।
नेपाल–चीन सीमा भएर बग्ने भोटेकोशी नदीमा भीषण बाढी आएर धनजनको ठुलो क्षति गरेपछि सरकारले मन्त्रिपरिषद् बैठक बसी ती प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । त्यसपछि राहत कोषमा मनकारी व्यक्ति तथा संस्थाहरूको सहयोग जम्मा हुन सुरु भएको थियो ।