त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धार तीव्र, ८२ जनाको टोली परिचालन

शनिबार, १३ भदौ, २०८३
डिजिटल संस्करण

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले प्रयास तीव्र पारेको छ। विगत दुई दिनदेखि जारी उद्धार अभियानअन्तर्गत शनिबार बिहानैदेखि सुरुङको प्रवेशद्वार खोल्ने कामलाई थप गति दिइएको हो।

सुरुङभित्र मानिसहरू फसेको जानकारी आएपछि सरकारले प्राथमिकताका साथ उद्धार टोली परिचालन गरी लेदो तथा भग्नावशेष हटाउँदै प्रवेशद्वार खोल्ने प्रयास गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

उद्धार तथा खोजी कार्यलाई तीव्र बनाउन शुक्रबार रातिदेखि नै नेपाली सेनाका ६२ जना तथा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका २० जना गरी ८२ जनाको संयुक्त टोली निरन्तर खटिएको छ। सुरुङ क्षेत्रमा प्रतिकूल मौसम कायम रहेकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको अधिकारीहरूले बताएका छन्।

यसैबिच, उद्धार सहयोगका लागि भारतबाट आएको टोली त्रिशूली पुगेको छ। भारतीय टोलीले हेलिकप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रको प्रारम्भिक हवाई अनुगमन (रेकी) गर्ने र त्यसबाट प्राप्त अवस्थाको मूल्यांकनका आधारमा थप उद्धार कार्य अघि बढाउने योजना बनाएको छ।

सुझावित समाचार