- प्रतिबन्धित औषधि मेस्टेरोलोन प्रयोग गरेका आसिफ खानको प्रतिबन्ध आगामी ७ डिसेम्बर २०२६ मा मात्रै फुकुवा हुने
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले युएईका ब्याट्सम्यान आसिफ खानलाई १५ महिनाको प्रतिबन्ध लगाएको छ । प्रतिबन्धित औषधिको प्रयोग गरेको अभियोगमा आसिफ १५ महिनाको प्रतिबन्धमा परेको आइसिसीले जनाएको छ । आइसिसीका अनुसार उनले प्रतिबन्धित पदार्थ मेस्टेरोलोन प्रयोग गरेका थिए । स्वयं खेलाडीले पनि प्रतिबन्धित औषधि प्रयोग गरेको स्वीकार गरिसकेका छन् ।
खेलाडीले वाडा र आइसिसीको नियमविपरीत औषधि सेवन गरेको स्विकारेपछि कारबाही गरिएको हो । आसिफले आइसिसीको एन्टी डोपिङ कोडको धारा २.१ उल्लंघन गरेको स्वीकार गरेका छन् । सन् २०२५ को सेप्टेम्बरमा प्रतियोगिता नभएको समयमा गरिएको परीक्षणमा उनी दोषी पाइएका हुन् । उनले विश्व एन्टी डोपिङ एजेन्सी र आइसिसीसँगको सहमतिअनुसार सजाय स्वीकार गरेका छन् । अब उनले निर्णयविरुद्ध पुनरावेदन गर्न पाउनेछैनन् ।
आसिफको कारबाही ८ सेप्टेम्बर २०२५ देखि ७ डिसेम्बर २०२६ सम्म रहनेछ । उनलाई ९ डिसेम्बर २०२६ देखि युएईको राष्ट्रिय टोलीको प्रशिक्षणमा सहभागी हुन वा क्लबको सुविधा प्रदान गरिएको छ । तर, आसिफ अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गर्न योग्य वा अयोग्य भन्ने निर्णय डिसेम्बर २०२६ पछि मात्र हुने आइसिसीले जनाएको छ । ८ सेप्टेम्बर २०२५ देखि २९ डिसेम्बर २०२५ सम्म आसिफले प्राप्त गरेका सबै व्यक्तिगत नतिजा, पदक, अंक र पुरस्कार पनि रद्द भएका छन् ।
पाकिस्तानको यू–१९ टोलीबाट क्रिकेट करिअर सुरु गरेका आसिफले सन् २०२२ मार्चमा ओमानविरुद्ध युएईका लागि डेब्यु गरेका थिए । उनले अहिले ३८ एकदिवसीय र ५६ टी–२० आई खेलेका छन् । सन् २०२५ को टी–२० एसिया कपमा उनले भारत, ओमान र पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गरेका थिए । आइसिसीले ती अन्तिम तीन खेलको रेकर्ड पनि अब उनको तथ्यांकबाट हटाएको छ ।