तीन दिनमा खुल्यो पृथ्वी राजमार्ग

शुक्रबार, १२ भदौ, २०८३
डिजिटल संस्करण

भोटेकोशी बाढीको तेस्रो दिनमा पृथ्वी राजमार्ग खुलेको छ। सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले अवरोध हटाएर यातायात सेवा सञ्चालन गरिएको बताए। राजमार्ग दुईतर्फी रूपमै सञ्चालनमा आएको छ।

गत बुधबार भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीले पृथ्वी राजमार्ग पनि अवरुद्ध भएको थियो। मुख्यतः पृथ्वी राजमार्गको धादिङस्थित बैरेनी–गल्छी सडकखण्डमा लेदो आएर थुप्रिएको थियो। झन्डै १३ सय मिटर लामो सडकमा तीन–चार मिटर उचाइसम्म लेदो जमेको थियो।

बाढी थामिएसँगै बुधबारदेखि नै लेदो हटाउन सुरु गरिएको थियो। पानीसहितको लेदोका कारण राजमार्ग पुनः सञ्चालन गर्न समय लागेको हो। 

सडक अवरुद्ध हुँदा काठमाडौंबाट पश्चिम जाने र पश्चिम नेपालबाट काठमाडौं आउने सवारीसाधन, यात्रु तथा मालवाहक ट्रक अलपत्र परेका थिए। अब उनीहरू क्रमशः गन्तव्यमा लागेका छन्।

सुझावित समाचार